५ वटा कम्पनीलाई मर्जरमा जान बीमा समितिले दियो स्वीकृति

जेठ ४, काठमाडौँ । बीमा समितिले विभिन्न ५ वटा कम्पनीलाई गाभ्न तथा गाभिन (मर्जर)मा जान स्वीकृति दिएको छ । समितिले मर्जरमा जान इच्छुक रहेका तीन जीवन बीमा कम्पनी र दुई निर्जीवन बीमा कम्पनी गरी ५ कम्पनीलाई स्वीकृति दिएको हो ।

स्वीकृति दिएकामध्ये जीवन बीमा कम्पनीको तर्फबाट प्राइम लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स र युनियन लाइफ इन्स्योरेन्स कम्पनी रहेका छन् । त्यस्तै, निर्जीवन बीमा कम्पनीको तर्फबाट हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्स रहेका छन् ।

यी तीन जीवन बीमा कम्पनी र दुई निर्जीवन बीमा कम्पनी एक आपसमा गाभ्न गाभिन सहमति पत्रमा हस्ताक्षर समेत भैसकेको छ । सोही अनुसार नियामक निकाय बीमा समितिले जेठ ३ गते सैद्धान्तिक सहमति दिएको हो ।

बीमा समितिले “बीमक गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी निर्देशिका, २०७६” को दफा ६ बमोजिम प्राइम, गुराँस र युनियन लाइफ इन्स्योरेन्सलाई एक आपसमा गाभ्न र गाभिन सैद्धान्तिक सहमति दिएको हो । साथै,सोही निर्देशिकाको दफा ७ बमोजिम मूल्याङ्कनकर्ता नियुक्त गरी समितिमा विवरण पेश गर्न समेत निर्देशन दिइएको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताएका छन् ।

पौडेलका अनुसार ती कम्पनीहरुले आफूहरुबीच आपसमा गाभ्ने, गाभिने र प्राप्ति गर्ने सहमति भएको र त्यसका लागि संयुक्तरुपमा निवेदन दिई सहमति माग गरेकाले समितिले त्यस सम्बन्धमा सैद्धान्तिक सहमति प्रदान गरेको हो ।

त्यस्तै, समितिले मर्जरमा जान एमओयू गरेका हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सलाई पनि सैद्धान्तिक सहमति प्रदान गरेको छ । यी दुई कम्पनीले आफूहरुबीच एक आपसमा गाभ्ने र गाभिने सम्बन्धमा सहमति गरी त्यसका लागि सहमति पाउन बीमा समितिमा निवेदन दिएका थिए ।

संम्बन्धित समचार

Leave a Reply