मंकीपक्स संक्रमित देशबाट नेपाल आउनेलाई क्वारेन्टिन बस्न आग्रह

जेठ १०, काठमाडौँ । सरकारले मंकीपक्स भाइरसको संक्रमण नेपालमा पनि फैलनसक्ने भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विश्वमा मंकीपक्सको संक्रमण फैलिरहेकोले नेपालमा पनि सम्भावित खतरा हुनसक्ने भन्दै त्यसतर्फ सचेत रहेर स्वास्थ्य शतर्कता अपनाउन सरकारले नागरिकलाई आग्रह गरेको हो ।

स्वास्थ्य मन्त्रालयले मंकीपक्स संक्रमण फैलिएका मुलुकबाट नेपाल भित्रने स्वदेशी तथा विदेशी नागरिकहरूलाई दुई हप्ता क्वारेन्टिन बस्न आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले मंकीपक्सको संक्रमणबाट बच्न व्यक्तिगत सरसफाई र क्वारेन्टाइनमा बस्ने कुरालाई ध्यान दिनुपर्ने बताए । सकेसम्म बाहिरी कुनै पनि सामानहरू नछुने र छोइहाले साबुनपानीले तत्काल सफा गर्नुपर्ने बताए ।

सहप्रवक्ता अधिकारीले मंकीपक्सको संक्रमणबाट बच्न सरकारले आवश्यक कदम चालिसकेको छ र सीमा नाकाहरूमा निगरानी बढाएको बताए । विश्व स्वास्थ्य संगठनको केन्द्रिय, क्षेत्रीय र नेपालमा भएको कार्यालयसँग नियमित सम्पर्कमा रहेर प्राप्त प्राविधिक सुझावका आधारमा आवश्यक निर्णय गर्दै जाने पनि उनले बताए ।

सहप्रवक्ता अधिकारीले मंकीपक्स शरीरमा प्रवेश गरेपछि फोका उठ्ने, विमिरा आउने, ज्वरो आउने र ग्रन्थीहरु सुन्निनेजस्ता समस्या देखापर्ने बताए । उनले यो संक्रमण अधिकांश बालबालिकाहरूमा देखापर्ने भएकोले बालबालिकाको स्वास्थ्यमा ख्याल गर्न पनि आग्रह गरे ।

मंकीपक्स संक्रमण भएका व्यक्तिमा शरीरमा चिलाउने खटिरा वा दाग देखिने र जिउभरि फैलिने. ज्वरो आउने, जीउ सुन्निने र ढाड, टाउको र मांसपेशी दुख्ने हुन्छ । मंकीपक्सका कारण शरीरमा देखिएका लक्षण करिव तीन महिनापछि आफैं हराएर जानसक्ने भएकोले डराउन आवश्यक नरहेको तर स्वास्थ्यमा ख्याल गर्नुपर्ने बताए ।

विश्व स्वास्थ्य संगठनका अनुसार मंकीपक्स भाइरस एकबाट अर्को व्यक्तिमा घाउको रस वा कणबाट र हाच्छिउँ गर्दा निस्कने थुकलगायतका तरल पदार्थका माध्यमबाट फैलिने गर्दछ ।  त्यस्तै, संक्रमित जनावरहरू जस्तै बाँदर वा मुसाको सम्पर्कबाट पनि यो भाइरस सर्नसक्छ । संक्रमितले प्रयोग गरेका लुगा वा सामानबाट पनि सर्नसक्ने डब्लूएचओले जनाएको छ । हालसम्म ८० भन्दा बढी व्यक्तिमा संक्रमण पुष्टि भएको र शंकास्पदको अनुसन्धान भइरहेको संगठनले जनाएको छ ।

स्वास्थ्य अधिकारी र युरोपेली स्थानीय मिडिया रिपोर्टका अनुसार धेरै युरोपेली देशहरू साथै अमेरिका, क्यानडा र अस्ट्रेलियामा मंकीपक्सका बिरामीहरूको अनुसन्धान भइरहेको छ । नयाँ बिरामीहरू बेल्जियम, फ्रान्स, अस्ट्रेलिया र जर्मनीमा देखा परेका छन् । मंकीपक्स मध्य र पश्चिमी अफ्रिकी देशहरूका घना जंगलमा रहेका जनावरहरूको सम्पर्कमा आउने मानिसहरुमा हुनसक्ने भाइरस हो । प्रायः मुसा प्रजातीका जनावरहरूमा यसको भाइरस रहन्छ ।

संम्बन्धित समचार

Leave a Reply