यस बर्षको मनसुनमा १७ लाख मानिस प्रभावित हुने अनुमान

जेठ १२, काठमाडौं । नेपालमा यसपालि मनसुनमा झन्डै १७ लाख मानिस प्रभावित हुनसक्ने प्रारम्भिक अनुमान गरिएको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

बाढी, पहिरो, ठूलो र अविरल वर्षा तथा डुबानले देशका विभिन्न स्थानमा समस्या पर्न सक्ने सम्भावना देखिएको प्राधिकरणका अधिकारी बताउछन् । यसपालिको मनसुनमा औसतदेखि अधिक वर्षा हुन सक्ने जल तथा मौसम विज्ञान विभागअन्तर्गत रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यस्तो प्रभाव खासगरी तराई क्षेत्रमा बढी पर्ने अनुमान गरिएको छ ।

प्राधिकरणका प्रवक्ता डिजन भट्टराईले यो बर्षको मनसुनमा लगभग १७ लाख मानिस मनसुनको प्रभावमा पर्न सक्ने अनुमान गरेको बताए । प्रवक्ता डिजन भट्टराईले त्यसैअनुसार सबै तहका सरकारलाई ध्यानाकर्षण गराएको पनि बताए ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार यसपालि जुन १३ तारिख (जेठ ३० गते) देखि मनसुन सुरु हुने अनुमान छ । मनसुनको वर्षा सामान्य वा सामान्यभन्दा बढी रहे बाढीपहिरोको जोखिम रहने वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले बताइन् । उनका अनुसार पानी पश्चिममा सामान्यभन्दा केही बढी हुने, मध्य भागमा सामान्य र सामान्यभन्दा केही बढी अनि पूर्वमा सामान्य रहने देखिन्छ ।

सङ्घीय सरकारले पनि प्रतिकार्य योजना तयार गरिरहेको र त्यो अन्तिम चरणमा पुगेको विपद् व्यवस्थापनका अधिकारी बताउछन् । त्यस्तै राहत अनि उद्धारका लागि सातै प्रदेशमा गोदामको व्यवस्था गरिएको, प्रदेश सरकारले पनि छुट्टाछुट्टै व्यवस्था गर्ने गरेको बताइएको छ । विपद् व्यवस्थापनका लागि प्राधिकरणमा एक अर्ब रुपैयाँ बजेट छुट्ट्याएकाले यसपालि स्रोतसाधनकै कारण समस्या नहुने आफूहरूको बुझाइ रहेको प्रवक्ता भट्टराई बताउँछन् ।

संम्बन्धित समचार

Leave a Reply