कालिकोटस्थित रासकोट अस्पतालमा सहयोग सामग्री हस्तान्तरण

जेठ २१,कालिकोट । सुदुरपश्चिमको बिकट जिल्ला कालिकोटको रासकोट स्थित रासकोट अस्पताललाई हङकङ स्थित हङकङ नेपाल हिन्दू एशोसिएसन (हिन्दू मन्दिर) ले संकलन गरी पठाएको सहयोग सामग्री दिब्य सेवा समाज काठमाण्डौको समन्वयमा अस्पताल परिसरमै पुर्याएर हस्तान्तरण गरिएको छ।

दिब्य सेवा समाजका अध्यक्ष रामभक्त श्रेष्ठ र सचिव शिरोमणि दवाडीले अस्पतालका प्रवन्धक कौशल न्यौपाने सहित चिकित्सकको टोलीलाई सहयोग सामग्री हस्तान्तरण गरेका हुन् । संचारकर्मी रबि लामिछानेको अगुवाइमा अस्पतालको भौतिक पूर्वाधार निर्माण गरिएपछि स्थानीय समाजसेवीहरूकै सक्रियतामा अस्पताल संचालनमा ल्याएको छ। कार्यरत कर्मचारी र चिकित्सकको तलब रासकोट नगरपालिकाले उपलब्ध गराएपनि अस्पतालसम्म बिरामी पुर्याउने एम्बुलेन्स,उपचारमा प्रयोग हुने उपकरण र बिरामीहरूका लागि आकस्मिक उपचारका लागि औसधिको अभावमा अस्पताल संचालन भैरहेको खबर पाए पछि केही राहत पुगोस भन्ने हेतुले दाताहरूबाट सहयोग जुटाइ बिरामीहरूका लागि अत्यावश्यक सामग्री उपलब्ध गराइएको हिन्दू मन्दिरकी अध्यक्ष गोमा देवी शर्माले जानकारी दिइन् ।

सुत्केरी महिला,भर्खर जन्मिएका शिशु तथा अशक्त बिरामीहरूलाई लत्ताकपडा,अस्पतालमा प्रयोग हुने थर्मस,मास्क लगायतका सामग्रीहरू उपलब्ध गराएको थियो। सोही अवसरमा अध्यक्ष श्रेष्ठ तथा सचिव दवाडीले बेडमा रहेका बिरामीको अवस्था बुझेर राहत सामाग्री तथा नगद सहयोग रकम समेत प्रदान गरेका हुन् । बिकट ठाउँमा आएर स्वयं बिरामी भेटी सहयोग गर्न पाएकोमा खुसी लागेको बताउँदै आगामी दिनमा संस्थाको अगुवाइमा सहयोग कार्यक्रमलाई निरन्तरता दिने उनले बताए।

प्रवन्ध न्यौपानेले अक्सिजन सिलिन्डर,आइसियुका उपकरण र एम्बुलेन्स अत्यावश्यक रहेको बताउँदै सहयोगी संघसंस्थाको खोजी भैरहेको जानकारी गराए । हवाइ यातायातको सेवा नभएको र स्थल यातायातबाट पनि एक दिनभरको यात्राबाट मात्र सुर्खेतसम्म पुग्न सकिने हुनाले औषधि ढुवानीमा पनि समस्या रहेकोे कार्यरत चिकित्सकहरूले जानकारी गराएका थिए । अत्यन्त अप्ठ्यारो र बिकट बाटो भएकाले
घन्टौँ बोकाएर ल्याएका बिरामीलाई सघन उपचारका लागि रिफर गर्दा बाटोमै ज्यान जाने गरेको चिकित्सकहरूले अनुभव सुनाएका थिए ।

संम्बन्धित समचार

Leave a Reply