महाराष्ट्र राज्य सरकार संकटमा ! ४० सांसद लिएर गुवाहिटीको होटलमा पुगे मन्त्री सिन्दे

असार ८,काठमाडौँ । भारतको महाराष्ट्र राज्यका मुख्यमन्त्री उद्धव ठाकरेको सरकार संकटमा फसेको छ। आफ्नै पार्टीबाट मन्त्री बनेका एकनाथ सिन्देले दर्जनौं सांसद लिएर हिँडेपछि गठबन्धन गरी सरकार बनाएका ठाकरेलाई सरकार जोगाउन मुस्किल भएको हो।

सिन्दे ठाकरे सरकारका सहरी विकास मन्त्री थिए। मंगलबार बिहान उनी गुजरातको सुरतस्थित एक होटलमा पुगेका थिए। सिन्देले आफूसँगै शिव सेनाका केही असन्तुष्ट सांसद र केही स्वतन्त्र सांसद पनि सँगै लिएर गएका छन्।

उनी लामो समयदेखि मुख्यमन्त्री ठाकेरसँग असन्तुष्ट रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

सन् २०१९ मा भएको महाराष्ट्र विधान सभा चुनावमा भारतीय जनता पार्टी सबैभन्दा ठूलो दल बनेको थियो। २८८ सिटमध्ये भाजपाले १०५, शिवसेनाले ५५, नेसनालिस्ट कंग्रेस पार्टीले ५४, कंग्रेस आईले ४४, स्वतन्त्रले १३ र अन्य पार्टीहरूले १६ सिट जितेका छन्।

लामो समय शिवसेनाको बर्चश्व रहेको महाराष्ट्रमा उक्त चुनावपछि गठबन्धन सरकार बनेको थियो। भाजपाबाहेकका अरू ठूला दल मिलेर महाविकास अघाडी गठबन्धन बनाएका थिए।

उनले आफूसँग शिवसेना र स्वतन्त्र गरी ४० सांसद रहेको दाबी गरेका छन्। एनडिटिभीका अनुसार गुवाहिटीमा सिन्दे लगायत सांसद बसेको होटलमा ७० वटा कोठा सात दिनका लागि बुक गरिएका छन्।

ठूलो संख्यामा सांसदहरूले राज्य छोडेर हिँडेपछि अब ठाकरेले कसरी सरकार चलाउँछन् भन्ने चासो छ। केही नेताहरूले अब विधान सभा विघटन हुने संकेत गरेका छन्।

यसैबीच महाराष्ट्रका गभर्नर भगतसिंह कोसियारी र मुख्यमन्त्री ठाकरेलाई बुधबार कोरोनाभाइरसको संक्रमण पुष्टी भएको छ।

संम्बन्धित समचार

Leave a Reply