लागूपदार्थको दुर्व्यसनबाट युवालाई बचाउनु सबैको दायित्व हो: गृहमन्त्री खाण

असार १२,काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले लागू पदार्थको दुर्व्यसनबाट युवा पुस्ताको सुन्दर भविष्य बचाउन र नागरिकको रक्षा गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । लागूऔषध दुरुपयोग तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा गृह मन्त्रालयले आइतबार काठमाडौँमा गरेको कार्यक्रममा गृहमन्त्री खाणले लागू पदार्थको दुर्व्यसनबाट युवालाई बचाउनु सबैको दायित्व भएको बताए ।

लागूपदार्थको दुर्व्यसनका कारणले समाजलाई गम्भीर असर पारेको र त्यो असर सबैभन्दा बढी युवा पुस्तामा परिरहेको उनले बताए । गृहमन्त्री खाणले युवा पुस्तालाई दुर्व्यनीबाट बचाउनु सरकार र समाज सबैको दायित्व भएको धारणा राखे ।

युवा पुस्ताको भविष्य सुन्दर बनाउन सरकारले आगामी दिनमा जागरुकताका कार्यक्रम ल्याउन, पाठ्यपुस्तकमा लागूऔषध दुर्व्यसनका असरबारेका विषयवस्तु समावेश गरेर विद्यार्थीलाई बेलैमा जानकारी गराउन र दुर्व्यसनीमा फसेका युवालाई सुधार्न विशेष अभियान थाल्नुपर्ने आवश्यकता गृहमन्त्री खाणले बताए ।

‘नेपालमा लागूपदार्थ चुनौतीको रुपमा आइरहेको छ । लागूपदार्थ दुर्व्यसनको कारणले समाजलाई गम्भीर असर पारेको छ । बढी असर युवा पुस्तामा परिरहेको छ । हाम्रो युवा पुस्तालाई दुर्व्यसनबाट कसरी बचाउने भन्ने हामी सबैको दायित्व हो,’ गृहमन्त्री खाणले भने, ‘सरकार यो संवेदनशील विषयमा आफ्ना नागरिकको रक्षा र युवा पुस्ताको सुन्दर भविष्य बचाउन प्रतिवद्ध छ । आउने दिनमा सरकारले अझै बढी ध्यान दिन, जागरुकताका कार्यक्रम ल्याउनुपर्ने, पाठ्यपुस्तक पनि यसलाई समावेश गरेर विद्यार्थीलाई बेलैमा जानकारी दिने, दुर्व्यसनीमा फसेका युवालाई सुधार्न अभियान थाल्नुपर्नेछ ।’

उनले अहिले लागूपदार्थबारेको अपराधमा दोषी देखिएका ६ हजार बढी बन्दी कारगारमा रहेको र मुलुकभर हुने आपराधिक गतिविधिमध्ये ८ प्रतिशतभन्दा बढी लागूपदार्थसँग सम्बन्धित रहेको बताए ।

कार्यक्रममा गृहसचिव टेकनारायण पाण्डे र नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंहले लागूऔषधमुक्त परिवार, समाज र राष्ट्र निर्माण गर्न सबै नागरिकहरू आफ्नो तर्फबाट सचेत हुन आवश्यक रहेको बताए।

कार्यक्रममा लागूऔषधविरुद्ध कार्य गर्ने विभिन्न सङ्घसंस्थालाई सम्मान गरिएको थियो ।

कार्यक्रम अघि राष्ट्रिय सभागृहबाट सुरु भएर भद्रकाली, सुन्धारा, न्यूरोड, रत्नपार्क बागबजार हुँदै पुनः राष्ट्रिय सभासम्म प्रभातफेरीको आयोजना गरिएको थियो ।

संम्बन्धित समचार

Leave a Reply