मेयर बालेन र पर्यटनमन्त्री श्रेष्ठबीच भेटवार्ता

साउन ९,काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठसँग काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र साहले भेट गरेका छन् । सिंहदरबारमा रहेको मन्त्रालयमा भएको भेटमा मन्त्री श्रेष्ठले कोभिड–१९ महामारीबाट अति प्रभावित पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्ने मन्त्रालयको कार्ययोजनामा महानगरपालिकासँग सहकार्य गरिने बताए ।

काठमाण्डौ, पाटन, भक्तपुर र कीर्तिपुरमा रात्रिकालीन सम्पदा यात्राको सुरुवात गर्ने योजना रहेको बताउदै मन्त्री श्रेष्ठले काठमाण्डौका पालिका सरकारहरूको सहयोग आवश्यक रहेको बताए । साथै उनले विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूनाथ मन्दिर र हनुमानढोका दरबार क्षेत्रलाई सम्पदा पदयात्रामा जोड्ने योजनामा पनि महानगरपालिकाको सहयोग आवश्यक रहेको बताए ।

साथै उनले पर्यटकीय यातायातलाई सहज बनाउन निजी क्षेत्रको सहकार्यमा ‘होप अन हप अफ’ सिटी बस सञ्चालनमा ल्याउने योजना अघि बढाइएको बताए । महानगरपालिकाले खुला पार्क निर्माण तथा सम्पदा संरक्षण र सम्वर्द्धन गरी ऐतिहासिक सहरको पहिचानलाई थप बलियो बताउनेतर्फ अग्रसर हुनुपर्ने मन्त्री श्रेष्ठको भनाइ छ । स्थानीय सांस्कृतिक सम्पदाहरूको प्रवर्द्धनले आन्तरिक एवम् बाह्य पर्यटन प्रवर्द्धन हुनुका साथै नागरिकको आर्थिक विकासमा टेवा पुग्ने मन्त्री श्रेष्ठले बताए ।

भेटमा महानगरका मेयर साहले आउँदो इन्द्रजात्राको अवसरमा विदेशका विभिन्न सहरका मेयर र पाहुनाहरू काठमाण्डौ आउने जानकारी दिनुहुँदै इन्द्रजात्रा व्यवस्थापनमा विभिन्न निकायबाट हुन सक्ने सहयोगबारे चासो राखेका थिए । इन्द्रजात्रालाई पर्यटन क्षेत्रको विकाससँग जोडेर अघि बढाउन विश्वका विभिन्न देशका मेयरसहित पाहुनाहरूलाई सहभागी गराउने योजना बनाइएको साहले बताए ।

परम्परागत जात्रा, चाडपर्व, संस्कृति र सभ्यताले पर्यटकीय आकर्षण बढाउने उनको भनाइ छ । मूर्त–अमूर्त सम्पदा संरक्षण–सम्वर्द्धन गरी महानगरले सांस्कृतिक सहरको पहिचानलाई जीवन्त राख्नुपर्ने मन्त्री श्रेष्ठले बताए । भेटमा मन्त्री श्रेष्ठले महानगरले गर्ने राम्रा काममा सङ्घीय सरकारको साथ र सहयोग रहने बताएका थिए । साथै उनिहरूबीच काठमाण्डौ महानगरपालिकाले अघि बढाएको सम्पदा निर्माण–पुनर्निर्माणको अवस्थाबारे पनि छलफल भएको थियो ।

संम्बन्धित समचार

Leave a Reply