स्मरणमा प्रदिप गिरी: समाजवादी आन्दोलनका व्याख्याता

-किशोर नेपाल                   

एक युगमा एक महामानवको जन्म हुन्छ। लोकतान्त्रिक आन्दोलनका योद्धा, समाजवादी चिन्तकरविचारक एवं नेपाली कांग्रेसका नेता प्रदीप गिरीको निधनले नेपाली समाजसँगै विश्वकै विद्वत् वर्ग शोकमा परेको छ । नेता गिरीको भदौ ४ गते शनिबार निधनभएपछि एक युगको अन्त्य भएको छ। म प्रदीप गिरीलाई दाइ भनेर सम्बोधन गर्छु। मेरो जीवनमा प्रदीप दाइलाई सम्झिने आयाम धेरै छन् । १४ वर्षको उमेरदेखि म उहाँको सङ्गतमा थिएँ । मेरो शिक्षामा, अध्ययनमा रुचि परिस्कृत गर्न उहाँको धेरै ठूलो हात छ । वास्तवमा म पत्रकारितामा लाग्नुको मुख्य कारण उहाँकै प्रेरणा हो । उहाँले मलाई राजनीतिक कार्यकर्ताको रूप मा भन्दा पनि रचनात्मक काम गर्ने पत्रकारका रूपमा देख्न चाहनुहुन्थ्यो । नेपाली राजनीतिमा उहाँको उपस्थिति नहुँदा एउटा शून्यको अवस्था सिर्जना भएको छ ।

देश अहिले एकदमै अप्ठ्यारो अवस्थामा छ। नीतिगत रूप मा धेरै कुरा हुन सकिराखेका छैनन्। सङ्घीय लोकतान्त्रिक गणतन्त्र राम्रोसित अघि बढ्न सकिरहेको छैन। राजनीतिक दलहरूबीच छिनाझप्टी छ, लुछाचुडी छ, अनावश्यक प्रतिस्पर्धा छ । यी सबैको बीचमा प्रदीप दाइलाई सम्झिँदा उहाँ दलहरूबीच प्रतिस्पर्धा नै चाहनुहुन्थ्यो। दलीय प्रतिस्पर्धा बिना लोकतन्त्र बलियो हुँदैन तर प्रतिस्पर्धा सकारात्मक होस्, रचनात्मक होस् भन्ने उहाँको चाहना थियो । त्यसैका लागि उहाँ निरन्तर लड्नुभयो, समर्पित हुनुहुन्थ्यो । मिठो बोल्नुहुन्थ्यो, बेला–बेला उहाँ कटु पनि बोल्नुहुन्थ्यो । उहाँको त्यो स्वभाव थियो । स्वाभिमानी र अत्यन्तै निष्ठावान लोकतन्त्रवादीका रूपमा म उहाँलाई सम्झिन्छु ।

राजनीतिक मुद्दामा हस्तक्षेप

राजनीतिमा सफलता–असफलता मापन गरिँदैन। राजनीतिज्ञले नेपालका राजनीतिक मुद्दाहरूमा कति हस्तक्षेप गर्न सक्नुभयो, त्यो कुरा महत्वपूर्ण हुन्छ। प्रदीप दाइ कहिल्यै सत्तामा जानुभएन। उहाँले सत्तामा जान्न भन्नुभएको थियो। त्यो विचारमा अडिग रहनुभयो, मन्त्री बन्ने लालसा राख्नुभएन।

मन्त्री पदमा गएर र पार्टीको कार्यकारी जिम्मेवारी लिएर सफल हुने कुरा थिएन तर विचारको हिसाबले उहाँले प्रशस्तै हस्तक्षेप गर्नुभयो पार्टीभित्र। नेपाली कांग्रेस पार्टीलाई अहिलेको दिनसम्म लिएर आउनमा उहाँको ठूलो योगदान छ। सत्तामा किन जानुभएन भन्ने प्रश्न पक्कै उठ्छ। उहाँ कर्ममा विश्वास गर्नुहुन्थ्यो, फलमा होइन। उहाँले निष्काम कर्म गर्नुभयो। उहाँको सैद्धान्तिक सफलता त्यही नै हो। कर्मशील भएकै कारण उहाँ सर्वप्रिय बन्नुभएको हो। लोभ, लालच त्याग्न सके मानिस आफैँ सुखी–खुसी हुन्छ। प्रदीप दाइमा लोभ, लालच थिएन। सत्तामा जाने, यो पद खाने भन्ने आकाङ्क्षा नै थिए। हामीलाई थाहा छ, देशका ठूल्ठूला नेताहरूलो राजस्वको लाखौँ खर्च गराएर आफ्नो उपचार गर्ने गरेको तथ्य छलङ्ग छ।

यत्रो लामो समय उपचार गर्नुभयो, उहाँले सरकारसँग दुई पैसा पनि लिनुभएन सायद। प्रदीप दाइ भन्नुहुन्थ्यो– राज्यले पैसा नहुनेहरूको उपचार गर्नुपर्छ। जहाँसम्म मलाई जानकारी छ– उहाँ भीमसेनगोलाको घर बेचेर क्यान्सरको उपचार गर्न जानुभएको हो। आफ्नो उपचार आफैँ गर्नुभयो। लोभ त्यागेका राजनीतिज्ञ प्रदीप दाइको यही प्रेरक कर्मकथाकै कारण उहाँलाई हामी सम्झिरहेका छौँ। नत्र एउटा सामान्य सांसद्को निधन हुँदा देशैभर होहल्ला हुनु, हाहाकार हुनु, रुवाबासी हुनु सामान्य कुरा होइन।

जेलदेखि जग निर्माणसम्म

प्रदीप दाइसँग समकालीन राजनीतिज्ञहरूसँग जोडेर तुलना गर्नै सकिँदैन। उहाँले बीपी कोइरालाको नेतृत्वमा काम गर्नुभयो। बीपीसँगै बहस गर्नुभयो, बीपीका विचारहरूलाई पूर्णता दिन सदा समर्पित हुनुभयो। बीपीको विचारभित्रै उहाँ बीपीभन्दा पृथक् धारणा र चिन्तन राख्नुहुन्थ्यो। दुवै नेता समाजवादी चिन्तक हो तर प्रदीपको समाजवाद अझ एड्भान्स थियो। त्यसका केही कारण छन्। बीपीलाई राजनीतिक जीवनका दौरान धेरै कुरा मिलाउनुपर्ने थियो, संयोजन गर्नुपथ्र्यो। धेरै कुराको व्यवस्थापन गर्ने दायित्व थियो।

बीपीको संरक्षणमा प्रदीप गिरीलाई स्वच्छ विचार गर्ने, स्वतन्त्र विचार प्रवाह र चिन्तन गर्ने भरपुर वातावरण थियो। बीपीले त्यो अधिकार दिनुभयो। त्यसो हुनाले उहाँका विचारहरू मौलिक भए। निरन्तरको अध्ययन र चिन्तनले कुशल वक्ता हुनुभयो र धेरै तिखो टिप्पणी गर्ने नेताको रूपमा स्थापित हुनुभयो। नेपालमा समाजवादी आन्दोलनको जग बसाल्दै प्रदीप दाइ बिदा लिनुभयो। सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासको ठूलो जिम्मेवारी अब हामीसामु आएको छ।

उतारचढावयुक्त राजनीतिक यात्रा

प्रदीप दाइको राजनीतिक यात्रा र अध्ययन बनारसमै अघि बढ्यो। नेपाली छात्र सङ्घ बनारसको निर्वाचित उपसभापति भएर उहाँले सशक्त रूपमा राजनीतिक यात्रा थालनी गर्नुभयो। समग्रमा, बनारसमा बस्दा उहाँले राजनीतिक चेतना प्राप्त गर्नुभयो र काठमाडौँ आएर त्यो चेतनाको ज्योति छर्नुभयो। त्यसक्रममा उहाँ जेल पनि बस्नुभयो। प्रदीप दाइको पहिलो जेल यात्रामा म पनि सँगै थिएँ। कांग्रेसका संस्थापक कृष्णप्रसाद भट्टराई पनि जेलमै हुनुहुन्थ्यो। त्यो पनि उहाँको चिन्तनकै बेला थियो। अहिंसात्मक आन्दोलनकै पक्षमा हुनुहुन्थ्यो उहाँ। कांग्रेसमा त्यस्ता अद्भूत व्यक्तिहरू धेरै कम छन्, जसले अहिंसा र सदाचारको बाटोमा आफूलाई समर्पित गरे। प्रदीप दाइ सम्पन्न परिवारमा जन्मिनुभएको हो। पिता मित्रलाल गिरी र माता पुण्यप्रभा गिरीको कोखबाट वि।सं। २००४ असोज २४ गते गोवर्धन पूजाका दिन सिराहाको बस्तीपुरमा जन्मनुभएका नेता गिरी गृहस्थ जीवनचाहिँ लथालिङ्ग नै रह्यो। उहाँका लागि राजनीतिक कार्यकर्ताहरू र उहाँसँग केही सिक्न चाहनेहरू नै उहाँका परिवार थिए। कार्यकर्ताहरू नै उहाँका सन्ततिजस्तै थिए। त्यसो हुँदा परिवारको अभाव त उहाँले महसुस गर्नुभएन होला।

उहाँले परिवार भनेर आफ्नै आफन्त वरिपरि मात्रै आफूलाई समर्पित गर्नुभएन। उहाँ ‘एक्ला चलो’ शैलीको व्यक्तित्व हुनुहुन्थ्यो। वि।सं। २०५१ को मध्यावधि निर्वाचनमा प्रतिनिधि सभा सदस्य बन्नुभयो। २०५६ को संसदीय निर्वाचनमा पराजित हुनुभयो। २०६४ र २०७० मा संविधान सभा सदस्यको जिम्मेवारीमा संविधान लेख्ने कार्यमा सक्रिय हुनुभयो। राजनीतिक जीवन उतारचढावपूर्ण रहे पनि निष्ठा र आदर्शप्रति उहाँ सधैँ दृढ रहनुभयो।

आश्रम र प्रदीप दाइ

सिराहामा प्रदीप दाइले आश्रम सञ्चालन गर्नुभएको छ। त्यो उहाँको पर्याय हो। त्यहाँ बालबालिका पढ्छन्। कृषिसम्बन्धी गतिविधि हुन्छन्। आश्रमले रेडियो सञ्चालन गरेको छ। उहाँले आश्रमलाई सर्वजातीय बनाउनुभएको छ। त्यहाँ छुवाछूत भेदभाव केही पनि हुँदैन। जसले समानताको सन्देश दिन्छ। यो आश्रम नेपालकै निधि हो। त्यो सम्पत्तिको जगेर्ना गर्न सक्यौँ भने एउटा राम्रो उदाहरणका रूपमा स्थापित हुन्छ।

दिवङ्गत भइसके पनि प्रदीप दाइ प्रेरणाका स्रोतका रूपमा सदा रहनु हुनेछ। उहाँसँगका प्रत्येक भेट मेरा लागि अविस्मरणीय रहे। केही वर्षअघि उहाँको आश्रममा गएर एक–डेढ महिना बसेँ। ती क्षणहरू अविस्मरणीय छन्। म र साथी रुचि श्रेष्ठसँग मिलेर एउटा किताब लेख्ने योजना बनाउनुभएको थियो तर उहाँको निधनपछि अब त्यो योजना यत्तिकै रहने भयो।

लेखपढको काममा उहाँलाई सघाउने गर्थें। मेरो पत्रकारितासँग उहाँ खुसी हुनुहुन्थ्यो। उहाँसँग सधैँ एकैनासको सम्पर्क रह्यो। म उहाँलाई सबैभन्दा बढी माया गर्थें र मलाई सबैभन्दा बढी माया गर्ने नेता प्रदीप दाइ नै हुनुहुन्थ्यो। मेरा लागि उहाँ शिक्षक, गुरु र नेता हुनुहुन्थ्यो। हामीबीच आत्मीय सम्बन्ध थियो। महिनौँ भेट हुँदैनथ्यो मेरो तर भेटेपछि त्यो सामीप्यता अत्यन्त सुमधुर हुन्थ्यो।

असाधारण गुण, साधारण व्यक्तित्व

प्रदीप दाइ असाधारण गुणले सम्पन्न एक साधारण मानिस हुनुहुन्थ्यो। उहाँको व्यक्तित्वलाई म त्यसरी व्याख्या गर्छु। उहाँको कृतित्व अथाह छ। उहाँले लेखेका कुराहरू कति छ कति। समेट्नै नसकिने छन्। पञ्चायतकालमा पम्प्लेटको रूपमा लेख्नुभयो, कति त कपीमा लेखेर छोड्नुभएको होला। रातभर नसुति पढ्ने प्रदीप दाइको बानी थियो। समग्रमा उहाँका कृतिहरू दूरदर्शी र दूरगामी विचारयुक्त छन्।

प्रदीप दाइको निधनको क्षति सामान्य छैन। एउटा शताब्दीको प्रतिनिधित्व गर्ने व्यक्तिको निधनको क्षतिपूर्ति हुन्छ भन्ने सोच्नै सकिन्न। बीपी कोइरालाको निधनबाट नेपाली प्रजातान्त्रिक आन्दोलनलाई जति ठूलो क्षति भयो, त्यसको पूर्ण रूपमा पूर्ति हुन सकेको छैन। साम्यवादी आन्दोलनका नेताहरू पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारीहरूको निधनले पुगेको क्षतिको खाडल अहिले पनि पूरा हुनसकेको छैन। प्रदीप गिरीको निधनले सिर्जित क्षति पनि पूरा हुनसक्ने खालको छैन।

त्यस्तै विवेकशील र अद्भूत विद्वान् नेपालमा फेरि जन्मिन्छ जस्तो मलाई लाग्दैन। सङ्घीय लोकतान्त्रिक गणतन्त्रको प्राप्तिपछि उहाँको विद्वतालाई एक प्रतिशत मात्रै पनि सदुपयोग गर्न सकेको भए नेपाल समुन्नत र समानताको नवीन यात्रामा अघि बढ्ने थियो। युवालाई सधैँ प्राथमिकता दिने र देशको समग्र रूपान्तरणको पक्षमा निरन्तर सङ्घर्ष मोर्चामा खटिनुहुने दाइ प्रदीप गिरीप्रति

हार्दिक श्रद्धाञ्जलि।

-गोरखापत्रबाट साभार

Related posts

तपाइलाइ कस्ताे लाग्याे ?