मङ्सिर ४ को निर्वाचनको तयारी: ७१ हजार छ सय ९३ प्रहरी कर्मचारी परिचालन हुने

काठमाडौँ– आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेपाल प्रहरीले ७१ हजार छ सय ९३ प्रहरी कर्मचारी परिचालन गर्ने भएको छ ।

गत वैशाख ३० को सम्पन्न स्थानीय तह निर्वाचनमा करिव १० हजार बढी प्रहरी परिचालन गर्न लागिएको हो । निर्वाचन अन्तर्गत मतदानको दिन आउन अब जम्मा ८६ दिन बाँकी छ । प्रहरी महानिरीक्षक धीरजप्रताव सिंहका अनुसार प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष, समानुपातिक तथा प्रदेशसभा निर्वाचनमा पनि प्रत्यक्ष र समानुपातिक निर्वाचन हुने भएकाले पनि एक ठाउँमा मत खसालिसकेपछि पुनःअर्को ठाउँमा मत खसाल्नुपर्ने अवस्था रहने हुँदा पनि सुरक्षा जनशक्ति बढी आवश्यक पर्ने उनले जानकारी दिए ।

केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले निर्वाचनलाई निष्पक्ष, भयरहित वातावरणमा सम्पन्न गर्न स्थानीय तह निर्वाचनभन्दा म्यादी प्रहरी पनि थप २० हजार बढी प्रस्ताव गरिएको जानकारी दिए । सङ्घ र प्रदेश निर्वाचनमा कैदीबन्दीसहित पाँच लाख मतदाता बढ्ने र मतदान केन्द्रसमेत थप हुने अनुमान गरिएअनुसार सुरक्षाकर्मी बढाइएको उनले बताए । गत स्थानीय निर्वाचनमा एक लाख म्यादी प्रहरी भर्ना गरिएकामा यसपटक एक लाख २० हजार भर्नाका लागि तालकु गृहमन्त्रालयमा प्रस्ताव पेश गरिएको छ ।

गृहमन्त्रालयबाट प्रस्ताव पारित भएर आएपछि मात्रै अन्य औपचारिक काम अघि बढ्ने जनाउँदै उनले अहिले आन्तरिक तयारीका काम चलिरहेको पनि जानकारी दिए । नेपाल प्रहरीले यसअघि नै प्रहरी अतिरिक्त महानिरीक्षक सहकुलबहादुर थापाका नेतृत्वमा प्रहरीको केन्द्रीय निर्वाचन सेल र मातहतका कार्यालय, प्रदेश तथा जिल्लामा आवश्यकतानुसार सेल गठन गरी आवश्यक कार्य प्रक्रिया अघि बढाइएको छ ।

प्रदेशमा प्रहरी वरिष्ठ उपरीक्षक, प्रहरी उपरीक्षकको नेतृत्व रहेको जिल्लामा प्रहरी नायब उपरीक्षक तथा प्रहरी नायब उपरीक्षकको नेतृत्व रहेको जिल्लामा प्रहरी निरीक्षकको नेतृत्वमा निर्वाचन सेल गठन गरिएको छ ।

प्रहरीले यसअघि नै मङ्सिर ४ को सङ्घ र प्रदेश निर्वाचनका लागि कुल एक हजार चार सय ९४ सवारी साधन, सात सय बढी सञ्चार सेट आवश्यक रहेको भनी मन्त्रालयमा लेखेर पठाइसकेको छ । पेश गरिएको प्रस्तावमा आवश्यक हातहतियारको पनि माग गरिएको छ ।

उनले हतियार अपुग भएमा नेपाली सेनाबाट बहालगिरीमा ल्याएर प्रयोग गरिने जानकारी दिए । सञ्चार सेट सम्भव भएन भने प्रहरीका मोबाइललाई सञ्चार सेटका रुपमा प्रयोग गरी उनीहरु लाई रिचार्ज कार्ड उपलब्ध गराउने योजना बनाइएको छ ।

केन्द्रीय सुरक्षा योजना बन्दै
गृहमन्त्रालयले पनि आफ्नो निर्वाचन सुरक्षाको तयारीलाई तीव्र पारेको छ । गृहसचिव टेकनारायण पाण्डेको नेतृत्वमा सबै सुरक्षा निकायका प्रमुख सदस्य रहेको केन्द्रीय निर्वाचन सुरक्षा सेल गठन गरी तीव्ररुपमा कार्य अघि बढाइएको गृह प्रवक्ता फणिन्द्रमणि पोखरेले जानकारी दिए । उनले सोहीअनुसार प्रदेश मुख्य सचिवको नेतृत्वमा प्रदेश सुरक्षा समन्वय सेल गठन गरिएको जानकारी दिए ।

त्यस्तै प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्ला निर्वाचन सेल तथा कमाण्ड पोष्ट गठन गरिएको छ । यस्तै केन्द्रीय सुरक्षा योजना पनि बन्दै गरेको उनले जानकारी दिए । सुरक्षाकर्मीलगायतको स्रोतसाधन जनशक्तिलगायतमा विषयमा अर्थ मन्त्रालयमा लेखेर पठाएको जानकारी दिँदै उनले स्वीकृत भएर आएलगत्तै औपचारिकरुपमा काम अघि बढ्ने जानकारी दिए । “गाडी भत्ता, अन्य बन्दोेबस्तीका सामान, म्यादी प्रहरी, सञ्चार सेट सबै लेखेर पठाएका छौँ”, प्रवक्ता पोखरेलले भने ।

संम्बन्धित समचार

Leave a Reply