हिमालयन आर्ट फेस्टिभल सुरु, असोज १४ गतेसम्म चल्ने

आश्विन ११,काठमाडौँ । आगामी १४ गतेसम्म नेपालकै सबैभन्दा स्तरीय र बृहत कला प्रदर्शनी नेपाल कला परिषद् बबरमहलमा भइरहेको छ । कार्यक्रमको समुद्घाटन नेपालका लागि अस्ट्रेलियाकी राजदूत फेलिसिटि भोल्कले पानसमा बत्ती बालेर गरेकी थिइन् । उनले यस्तो प्रदर्शनीले कला जगतमा थप उर्जा प्रदान गर्ने तथा कलाको विकासको लागि नेपाली जनमानसहरु नै अगाडि आउनु पर्ने कुरा बताइन् ।
कार्यक्रममा विभिन्न विशिष्ट व्यक्तित्वहरु, कला पारखीहरु, कलाकारहरुको उपस्थिति रहेको थियो ।

नेपाली कला जगत्का विषयमा छलफल चलाउने, कलाकारहरुसँग सम्वाद गर्ने, सांगीतिक कार्यक्रम गर्ने जसले विभिन्न कलाकारहरुलाई एकै थलोमा कलाको भलाकुसारी गर्ने अवसर मिलोस् भन्ने उदेश्य यस प्रदर्शनीको रहेको छ । साथै, वरिष्ठ कलाकार हरि प्रसाद शर्माको चित्रकला अक्सनमा समेत राखिएको छ । यस कार्यक्रमको प्रमुख उदेश्य भनेको कलाको विविध पाटा तथा यसको महत्वलाई विभिन्न क्षेत्रका मानिसहरुलाई अवगत गराउनु रहेको छ । साथै, नेपालको व्यापारिक कम्पनीहरु तथा लगानीकर्ताहरुले कला समेत गत लगानी गर्नका लागि यस प्रदर्शनीले प्रोत्साहन गर्ने उदेश्य समेत रहेको छ । नेपालीमा रहेका कला संकलकहरुले नेपाली कलाको अवस्था र कलाकारहरुको प्रगति समेत यस प्रदर्शनीबाट थाहा पाउन सकिने छ ।

हिमालयन आर्ट फेस्टिभल नाम दिइएको उक्त प्रदर्शनी इ–आर्टस्ले सन् २०१७ देखि निरन्तर रुपमा हरेक वर्ष नेपालीहरुको महान् चाड दर्शैको अवसर पारेर आयोजना गर्दै आइरहेको छ । इ–आर्टस् नेपालका सह—संस्थापक आशा डङ्गोल हिमालयन आर्ट फेस्टिभलको विषयमा यसरी बताउछन्, ‘दशैंमा धेरै मेलाहरुको आयोजना भइरहेको हुन्छ । मानिसहरु दशैँका लागि पहिले पहिले लुगाहरु किन्ने गर्दथे भने घरको सजावटको लागि चित्रकलाहरु पनि किन किन्नुहुन्न होला र भन्ने सोचका साथ सन् २०१७ देखि नै यो फेस्टिभलको आयोजना गर्दै आइरहेका छौँ ।’

नेपाली कलाकृति नेपालीहरुकै घरमा सजिउन् भन्ने उद्देश्य पनि यस प्रदर्शनीले बोकेको कुरा कलाकार डंगोल बताउनुहुन्छ । पहिला पहिला नेपाली कलाकृति किन्न गाह्रो हुन्छ भन्ने थियो, तर अहिले आकर्षक मूल्यमा मध्यम वर्गिय परिवारलाई लक्षित गरी यस कला प्रर्दशनी गर्न लागिएको हो । करिब १३० भन्दा बढी कालकारहरुले आफ्नो कला प्रदर्शनीमा राखेका छन् । नेपाली कलाकारहरुको कलाको स्तर मापनको लागि समेत यस प्रदर्शनीले महत्वपूर्ण भूमिका खेल्ने कुरा समेत सहभागी कलाकारहरु बताउछन् । किनकी यस प्रदर्शनीमा नेपालका क्षेत्र कुन ठाउँमा छ भनेर बुझ्न समेत यस प्रदर्शनीले मदत गर्दछ । कलाको विकासलाई हेर्ने आधार समेत यसले तय गर्न सक्छ ।

सन् २०१७ मा समसामयिक चित्रकला र मूर्तिहरुबाट शुरु गरिएको यस फेस्टिभलमा जम्मा ५० जना कलाकारहरुले भाग लिएका थिए । त्यसपछि २०१८ देखि काठमाडौं उपत्यकामा रहेका कलाकारहरुका विभन्न संस्थाहरुसँग कुराकानी गरेर उनिहरुको साथ लिँदै थप कलाकारहरु थप्दै गएको कलाकार डंगोल बताउछन् । यहि कारणले गर्दा पनि यो कला प्रदर्शनी एक बृहद सामुहिक मेलाको रुपमा वर्षेनी आयोजना भइहरहेको छ ।

अहिले हुने प्रदर्शनीमा कलाका विभिन्न विधालाई समेटिएको छ । नेपाली बरिष्ठ कलाकारहरु देखि वर्तमानका पुस्ताका कलाकारहरुको कामलाई प्रदर्शनीमा राखिएको छ । कलाकारहरुः शशि शाह, किरण मानन्धर, शशिकला तिवारी, हरि प्रसाद शर्मा, कृष्ण मानन्धर, राजन काफ्ले, भुवन थापा, आशा डंगोल, एरिना ताम्राकार, जुपिटर प्रधान, विधाता के.सी, सागर मानन्धर, उजय बज्राचार्य, सविता डंगोल, इशान परियार, जगदिश मोक्तान, पुजा दुवाल, नविना सुनवार लगायत करिब १३० जना कलाकारहरुको कलाकृति एउटै थलोमा हेर्न सकिन्छ ।

प्रदर्शनीको अर्को आकर्षण भनेको एक जना वरिष्ठ कलाकारलाई एउटा छुट्टै स्थान बनाएर उहाँको कलाकृतिलाई त्यहाँ राखिने कार्यक्रम समेत सन् २०१९ देखि गर्दै आइरहेको इ–आर्ट्स नेपालका संस्थापक कलाकार सुजन श्रेष्ठ बताउछन् । यस पाली भने उक्त स्थानमा कलाकार हरिप्रसाद शर्माका कृतिलाई प्रदर्शनीमा राखिएको छ ।

हिमाल, पहाड, तराइका कलाकारहरुको सहभागिता यस प्रदर्शनीमा रहेको छ । महिला कलकारहरुको समेत उल्लेख्य सहभागिता रहेको छ । यस प्रदर्शनीमा चित्रकलाका साथसाथै मूर्तिकला, इन्स्टलेसन, एचिङ्ग तथा पौभाहरुलाई पनि समावेश गरिएको छ ।

संम्बन्धित समचार

Leave a Reply