दशै: अर्थतन्त्र चलायमान चाड

-विश्वास रेग्मी         

दशैँ सँघारमा छ । किनमेल, घुमघाम, भेटघाट, मनोरञ्जनदेखि अनेकौँ योजना पूरा गर्ने समय हो यो । अधिकांश हिन्दु नेपालीको प्रमुख चाडका रूपमा स्थापित दशैँलाई नै लक्षित गरेर सार्वजनिक प्रणाली निर्माण पनि भएका छन् । सबैभन्दा धेरै सार्वजनिक बिदा यही समय हुन्छ । दशैँ लक्षित चाडपर्व खर्चका रूपमा अतिरिक्त एक महिनाको तलब कर्मचारीलाई उपलब्ध हुन्छ । सार्वजनिक यातायातको अतिरिक्त व्यवस्थापनदेखि सुरक्षा प्रणालीको परिचालनमा पनि राज्यले थप मेहनत गर्नुपर्छ । दशैँमा हुने व्यापक किनमेलकै कारण अनुगमन प्रणाली पनि यतिबेला बढी सक्रिय हुने गर्छ । सरकार आफैँले पनि सुपथ मूल्य सञ्चालन गर्नेदेखि निजी व्यवसायका दर्जनौँ नयाँ आकर्षक योजना दशैँमा सार्वजनिक हुन्छन् । अर्थतन्त्रका धेरै आयामलाई दशैँले प्रत्यक्ष प्रभाव पार्ने भएकाले वर्षभरमा सबैभन्दा धेरै आर्थिक गतिविधि हुने समय पनि यही बनेको छ ।

यस पटक भने अघिल्लो वर्षजस्तो छैन दशैँ । कोरोनाले आक्रान्त बनेको जनजीवनले अघिल्लो दशैँमा खुला महसुस गर्न पाएको थियो । दैनिकी सामान्य बन्न थालेपछि त्यसअघि दुई वर्ष घरभित्रै बस्नुपरेको बाध्यता अघिल्लो दशैँमा थिएन । त्यसैले आम गतिविधि बढ्दा त्यतिबेला अर्थतन्त्रले बौरिने अवसर पाएको थियो तर यस वर्ष दशैँलाई सुधारको सकसमा फसेको अर्थतन्त्रले प्रभावित बनाएको छ । विश्वव्यापी रूपमै अर्थतन्त्रमा देखिएका समस्याको सामना यस पटकको दशैँले गर्नुपर्ने देखिन्छ । आयात प्रतिबन्ध, महँगी, बढ्दो ब्याजदरजस्ता कारणले बजारमा दशैँको रौनक छाएको छैन । किनमेलका लागि चर्चित स्थानहरू खुला खुला देखिन्छन् । ग्राहकको भीडले भ्याइनभ्याइ नहुने व्यापारी पनि व्यापार कम हुँदा दशैँ अघिल्लो वर्षजस्तो नभएको गुनासो गर्छन् ।

त्यसो त कुल उपभोगको २० प्रतिशत उपभोग दशैँ आसपासमै हुने अनौपचारिक शोधले देखाउँछन् । समग्र आर्थिक गतिविधिको २० प्रतिशत अर्थात् सात खर्ब रुपियाँभन्दा बढी कारोबार यही समयमा हुने अध्ययनले देखाएको छ । दशैँमा हुने गतिविधिले नै सुस्त अर्थतन्त्रलाई एकै पटक माथि पु¥याउने अपेक्षा नीति निर्माताको पनि हुन्छ । त्यसैले दशैँ विशुद्ध धार्मिक चाड मात्र नभई यसले बढाउने गतिविधिका कारण आर्थिक चाड पनि बनेको छ । यस वर्ष त्यस्तो गतिविधि केही सुस्त भए पनि दशैँको आर्थिक विशेषता नै घट्ने अवस्था भने बनेको छैन । दशैँमा स्थापित केही प्रचलनका कारण यसको रौनक उस्तै छ । सुस्ताएको अर्थतन्त्रबीच पनि दशैँले ल्याउने हर्षोल्लासमा भने कमी छैन । धेरैको मनमा दशैँले प्रवेश पाइसकेको छ ।

किनमेलको चाड

धेरैका लागि दशैँ किनमेलको चाड पनि बनेको छ । खाद्यान्नदेखि घरका लागि आवश्यक सरसामान जोहो गर्ने योजना दशैँमा नै बन्छन् । यही योजना पूरा गर्न बजार निस्कनेकै कारण सहरदेखि गाउँका पसलसम्म भीडभाड देखिन्छ । नयाँ कपडादेखि इलेक्ट्रोनिक्स सामान, सुनदेखि सवारीसम्म खरिद गर्नेको भीडले बजारलाई नै अस्तव्यस्त बनाइदिएको हुन्छ । वार्षिक करिब ६० अर्ब रुपियाँको कपडा व्यापारमध्ये करिब ३० प्रतिशत दशैँमा नै हुने गर्छ ।

दशैँमा बढ्ने खानपिनका कारण मासु र मदिराको उपभोग अत्यधिक बढाएको छ । मासु पसल मात्र होइन, घरघरमै खसीबोका काट्ने प्रचलनले दशैँ अत्यधिक मासु खपत हुने समय पनि हो । दशैँलाई लक्षित गर्दै काठमाडौँ उपत्यकामा मात्र ६० हजारभन्दा बढी खसीबोका र च्याङ्ग्रा भित्रिन्छन् । मोबाइल र मोटरसाइकलमा रहेको आयात प्रतिबन्धका कारण यस पटक मोबाइल र अटो बजारमा धेरै रौनक नभए पनि सामान्य अवस्थामा भने यो सबैभन्दा घुइँचो लाग्ने बजार बन्न थालेको छ । यसबाहेक ‘होम अप्लायन्सेस’का रूपमा चिनिने रेफ्रिजेरेटेर, वासिङ मेसिन, ओभनलगायतका सामग्रीको बिक्री पनि दशैँमा ह्वात्तै बढ्छ । पछिल्लो समय ई–कमर्समार्फत पनि दशैँको समयमा छुटको व्यवस्था हुँदा अनलाइनमार्फत पनि किनमेलको चाप बढ्न थालेको छ । नेपाल खुद्रा व्यापार सङ्घका अनुसार नेपालको कुल खुद्रा व्यापारमध्ये दशैँ र तिहारमा मात्रै ३५ प्रतिशतको हाराहारीमा हुने गर्छ । अन्य समयको तुलनामा मुख्य चाडपर्वको समयमा व्यापार पनि ४० प्रतिशतले बढ्ने सङ्घको अनुमान छ । बिहेका लागि दशैँ उत्तम साइत मानिन्छ । बिहेकै लागि भनेर पनि लत्ताकपडासहित गरगहनाको बिक्री बढ्छ । नेपाल रत्न तथा आभूषण सङ्घका अनुसार दशैँको समयमा गरगहनाको व्यापार दोब्बरले बढ्ने गर्छ । अर्थात् दैनिक २० किलोग्राम सुन बिक्री हुने गरेकोमा दशैँमा ४० किलोग्रामसम्म बिक्री हुने सङ्घको प्रक्षेपण छ । सम्पत्तिका रूपमा सुन तथा गरगहनाको सामान जोड्ने नेपालीको बानीले पनि यसको बिक्री बढाउन सहयोग पु¥याएको छ ।

घुमघामको समय

सेप्टेम्बरदेखि डिसेम्बरसम्मको समयलाई नेपालमा घुमघामको सिजन मानिन्छ । यही सिजनमा पर्छ दशैँ पनि । खुलेका आकाश अनि सफा मौसमसहितको घुमघामका लागि नेपाली मात्र हैन, विदेशी पनि यही समयलाई रोज्छन् । दशैँ र यससँगै जोडिएर आउने तिहार, छठजस्ता चाडपर्वमा दिइने सार्वजनिक बिदाले पनि दशैँमा घुमघामका योजना बनेका हुन्छन् । अरू बेला समय नपाए पनि दशैँमा भने घुम्ने योजना धेरैको हुन्छ । दशैँमा साथीभाइसँग पनि भेटघाट हुने र त्यही मौकामा सँगै घुम्ने योजना बनेका हुन्छन् । यही कारण आन्तरिक पर्यटनका लागि दशैँ र यो आसपासको समय धेरै नै महìवपूर्ण बन्दै गएको छ । दशैँमा घुम्ने नेपालीको बानीकै कारण प्रमुख पर्यटकीय ठाउँका होटल व्यवसायीले आकर्षक योजना पनि सार्वजनिक गरिरहेका हुन्छन् । देशका प्रमुख पर्यटकीय गन्तव्य पोखरा, सौराहा, लुम्बिनी, इलामजस्ता ठाउँका होटल दशैँ आसपास भरिभराउ देखिन्छन् । त्यति मात्र होइन, पदयात्राका लागि निस्कने नेपालीको नयाँ बानीले अन्नपूर्ण बेस क्याम्प, मार्दी बेस क्याम्प, सगरमाथा बेस क्याम्प, रारा, खप्तड र लाङटाङ हिमाल पुग्ने पदमार्गमा नेपाली हिँडिरहेको भेट्न सकिन्छ । घुमघामको यो बानीले दशैँमा नगद प्रवाह पनि बढी हुने गर्छ ।

धेरै नगद प्रवाह

बजारमा सबैभन्दा नगद आउने समय पनि दशैँ नै हो । पहिलो त यो समयमा बढ्ने किनमेलले गर्दा नै नगद प्रवाह उच्च हुन्छ । दशैँ लक्षित किनमेल र उपभोग अन्य समयको तुलनामा ३० प्रतिशतसम्म बढ्ने भएकाले नगद प्रवाह स्वाभाविक रूपमा बढी हुन्छ । दशैँलाई नै लक्षित गरेर दिइने अतिरिक्त एक महिनाबापतको तलबले पनि नगद प्रवाहमा जोडबल पु¥याएको हुन्छ । दशैँमा दक्षिणा दिने प्रचलनलाई लक्षित गर्दै राष्ट्र बैङ्कले थप दस अर्ब रुपियाँ बराबरका नयाँ नोट बजारमा पठाइसकेको छ । यसबाहेक नगद प्रवाहलाई सबैभन्दा ठूलो प्रभाव पार्छ विपे्रषणले ।

गत वर्ष विपे्रषण खुम्चिए पनि यस वर्ष पछिल्लो महिनामा यसमा सुधार आएको छ । साउनमा मात्रै २० प्रतिशतले विपे्रषण सुधार भएर ९२ अर्ब रुपियाँ नाघेको छ । दशैँ लक्षित विपे्रषण खासगरी भदौका पछिल्ला दुई साता र असोजका अघिल्ला दुई सातामा आउने गर्छ । दशैँलाई नै प्राथमिकतामा राखेर आउने यस्तो विपे्रषणले बजारमा एकै पटक ठूलो मात्रामा नगद प्रवाहलाई सहज बनाउँछ । यस पटक दशैँ लक्षित विपे्रषण नै एक खर्ब १५ अर्ब रुपियाँभन्दा बढी आउने अनुमान गरिएको छ । बैङ्क तथा वित्तीय संस्थाबाट दशैँ आसपासमा हुने नगद प्रवाह पनि अन्य समयको तुलनामा १५ प्रतिशतभन्दा बढी हुने राष्ट्र बैङ्कको तथ्याङ्कले देखाउँछ ।

यातायातमा घुइँचो

विदेशमा रोजगारीका लागि गएका हुन् या काम र पढाइ खोज्दै सहर पसेका । प्रायः सबै दशैँमा आफ्नो घर फर्किन चाहन्छन् । दशैँ भेटघाटको चाड पनि हो । त्यसैले वर्षभर अरू समय जान नसकिए पनि दशैँमा भने घर पुग्ने प्रचलन छ । बिदा पाउन मुस्किल हुने सेना, प्रहरी, अस्पताल, सुरक्षाजस्ता सेवामा रहेका व्यक्ति पनि छुट्टी मिलाएर दशैँमा घर पुग्नै खोज्छन् । घर जाने सबैको यस्तै चाहनाले दशैँमा सार्वजनिक यातायात भरिभराउ हुन्छ । अझ हवाई यात्रा गर्ने प्रचलन बढ्दै गएपछि आन्तरिक उडानमा पनि दशैँको बेला उत्तिकै घुइँचो हुन्छ । त्यसैले दशैँलाई नै लक्षित गरेर अग्रिम बुकिङ खुलाउने, रुट इजाजत लिनु नपर्ने, सवारी सङ्ख्या थप गर्नुपर्नेजस्ता अवस्था सिर्जना हुन्छन् । देशका प्रायः सबै लामो दूरीका गन्तव्य काठमाडौँबाट तय हुने भएकाले राजधानी जोड्ने मुख्य नाकामा बढ्ने सवारी चापले घन्टौँ जाम बेहोर्नुपर्ने अवस्था पनि यही बेला हुन्छ । अनौपचारिक तथ्याङ्कअनुसार घटस्थापनादेखि फूलपातीसम्म उपत्यकाबाट दैनिक पाँच हजारभन्दा बढी सवारी बाहिरिन्छन् ।

आन्तरिक वायुसेवा प्रदायकका अनुसार दशैँको समय नियमित उडानले मात्र चाप थेग्न सक्दैन । सामान्यतया दैनिक औसत १५० सम्म उडान भइरहेको अवस्थामा दशैँका लागि कम्तीमा दुई दर्जनभन्दा बढी उडान थपिन्छन् । देशका प्रायः आन्तरिक विमानस्थलका टर्मिनल दशैँ आसपासमा भरिभराउ नै देखिन्छन् ।

महँगीको मार

रसिया–युक्रेन युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेपछि त्यसले पेट्रोलियम पदार्थको भाउ अहिलेसम्मकै उच्च बिन्दुमा पु¥यायो । नेपालमै कुनै समय पेट्रोल लिटरको दुई सय रुपियाँसम्म पुगेको थियो । डिजेलको मूल्य पनि नेपाली बजारमा अहिलेसम्मकै उचाइमा छ । यो सबै कारणले सार्वजनिक यातायातको भाडा गत वर्षको तुलनामा २० प्रतिशतभन्दा बढीले उकालो लागेको छ । पेट्रोलियम पदार्थको उच्च मूल्यवृद्धिले उत्पादन र ढुवानी लागत बढाउँदा बजारमा केही वस्तुको मूल्य गत वर्षको तुलनामा दोब्बरभन्दा बढी छ । तरकारीदेखि चामल, घिउ, तेल, दलहन सबैको मूल्य अकाशिएको छ । खाद्यान्नमै बढी खर्च गर्नुपर्दा सर्वसाधारण दशैँका अतिरिक्त योजना कटौती गर्नुपर्ने अवस्थामा पनि पुगेका छन् । अत्यावश्यक किनमेलबाहेक रुचिका किनमेललाई कतिपयले पर धकेलेका छन् । नेपाल राष्ट्र बैङ्कको तथ्याङ्कअनुसार पनि गत वर्षको मासिक औसत चार प्रतिशतको मुद्रास्फीति अहिले दोब्बर अर्थात् आठ प्रतिशतभन्दा बढी छ । मुद्रास्फीतिले मुद्राको भाउ घटेको जनाउँछ, जसको सोझो अर्थ हो– महँगी ।

प्रतिबन्धको सकस

गत वैशाख दोस्रो हप्तादेखि सरकारले विभिन्न दस वस्तुको आयातमा प्रतिबन्ध लगायो । भदौ दोस्रो साता त्यसमा संशोधन गर्दै विभिन्न चार वस्तुको आयात प्रतिबन्धलाई निरन्तरता दियो । जुन अहिलेसम्म कायम छ । प्रतिबन्धको त्यस्तो सूचीमा छन्– तीन सय डलरमाथिका मोबाइल, १५० सीसीमाथिका मोटरसाइकल, सबै प्रकारका तयारी मदिरा, जिप, कार अनि भ्यान । असोज २८ सम्म प्रतिबन्धित रहेका यिनै वस्तु दशैँमा सबैभन्दा धेरै व्यापार हुने वस्तु पनि हुन् । दशैँलाई नै लक्षित गरेर धेरै मोटरसाइकल र कार विक्रेताले आकर्षक छुट योजना ल्याउने भए पनि आयात प्रतिबन्धका कारण यस पटक त्यति धेरै नयाँ योजना आएका छैनन् । त्यस्तै मोबाइल फोन विक्रेताका लागि दशैँ सबैभन्दा धेरै व्यापार हुने समय बनेको थियो । यही समयलाई लक्षित गर्दै नयाँ फोन नेपाली बजारमा ल्याउने र त्यसलाई आकर्षक योजना देखाएर बिक्री गर्ने चटारो हुन्थ्यो । यो व्यापारमा पनि प्रतिबन्धको असर देखिएको छ । विक्रेताहरू यतिबेला सरकारलाई मोबाइल आयातको प्रतिबन्ध फुकुवा गरिदिन अनुरोध गरिरहेका छन् । दशैँमा मदिरा खपत अत्यधिक हुने भए पनि खासगरी विदेशी मदिराको आयात प्रतिबन्धले एउटा अर्को ठूलो बजार प्रभावित भएको देखिन्छ । विदेशी मुद्रा खासगरी डलरको सञ्चिति घटेपछि सरकारले आयात कस्न कर्जा नियन्त्रण, शतप्रतिशतसम्म मार्जिन र कतिपय वस्तुको आयातमै प्रतिबन्ध लगाउने उपाय कार्यान्वयन गर्दै आएको छ । वस्तु आयात बढ्दा धेरै डलर बाहिरिएको र सञ्चिति घट्न थालेपछि अपनाइएका यी उपायका कारण पनि सबैभन्दा धेरै व्यापार हुने समयमा मोबाइल, कार, मोटरसाइकल र मदिरा बजारमा पर्याप्त उपलब्ध छैनन् ।

संम्बन्धित समचार

Leave a Reply