सत्ता गठबन्धनको बैठकबीच लोसपा नेताहरु बालुवाटार प्रवेश

आश्विन २१,काठमाडौँ । सत्ता गठबन्धनसँग चुनावी तालमेलका लागि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेताहरु बालुवाटार पुगेका छन् । पार्टी दलीय सत्ता गठबन्धनबाट जसपा बाहिरिएपछि लोसपाका नेताहरु बालुवाटार पुगेका हुन् ।

कांग्रेस, माओवादी, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा सम्मिलित गठबन्धनसँग चुनावी तालमेलका लागि लोसपाका वरिष्ठ नेता शरदसिंह भण्डारी, नेता अनिल झापा र जितेन्द्र सोनल बालुवाटार पुगेका हुन् ।

सिट बाँडफाँट टुंग्याउन कांग्रेस, माओवादी, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका नेताहरुबीच विहान ९ बजेदेखि बालुवाटारमा बैठक जारी छ । बैठककै बीचमा लोसपा नेता बालुवाटार प्रवेश गरेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका स्वकीय सचिव रमेश मल्लले बताए ।

एमालेसँग तालमेलका लागि वार्ता समिति बनाएको लोसपा अन्ततः सत्ता गठबन्धनसँग तालमेल गर्ने अवस्था पुगेको देखिन्छ । एमालेले जसपालाई महत्त्व दिएपछि लोसपा गठबन्धनसँग जोडिन खोजेको छ ।

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा सुरुदेखि नै लोसपालाई गठबन्धनमा ल्याउन चाहन्थे । कांग्रेसको बैठकमा नेता विमलेन्द्र निधिले लोसपालाई गठबन्धनमा सामेल गराउनुपर्नेमा जोड दिँदै आएका थिए । जसपाका कारण लोसपालाई गठबन्धनमा भित्र्याउन समस्या भएको थियो । जसपा बाहिरिएपछि लोसपालाई गठबन्धनमा देउवालाई सहज भएको छ ।

संम्बन्धित समचार

Leave a Reply