जुम्लाबाट राप्रपाका ज्ञानेन्द्र शाही दोब्बर मतले विजयी

मंसिर ८, काठमाण्डौ । जुम्लाबाट प्रतिनिधिसभामा राप्रपाका ज्ञानेन्द्र शाही (ज्ञानबहादुर शाही) फराकिलो मतले निर्वाचित भएका छन् । मुख्य निर्वाचन अधिकृतका अनुसार राप्रपाका ज्ञानबहादुर शाहीले २२ हजार ८१९ मत पाए भने सत्ता गठबन्धनतर्फ नेकपा (माओवादी केन्द्र) की गोमा गौतम कुँवरले ११ हजार ९५९ मत पाइन् । त्यस्तै नेकपा एमालेका उम्मेदवार रतननाथ योगीले ६ हजार ५२८ मत पाए ।

ज्ञानेन्द्र मूल राजनीतिमा आएको बढीमा १० महिना जति भयो । ०४८ साल माघ २४ गते जुम्लाको सिङ्जा गाउँपालिका वडा नम्बर ३ पिगी (साबिक नराकोट गाविस–७) मा जन्मिएका उनी विशेषतः सामाजिक सञ्जालमा छाइरहने भाइरल पात्रका रूपमा परिचित छन् । भ्रष्टाचार विरोधी अभियन्ताको परिचय बनाएका उनी भ्रष्टाचारका फाइल हातमा लिने, युटुवरलाईसँगै लगेर चर्को–चर्को आवाजमा बोल्छन् ।

हामी नेपाली अभियानमा भ्रष्टाचार विरुद्धको अभियान शुरु गरेका ज्ञानेन्द्र शाही पछिल्लो समय राप्रपामा प्रवेश गरेर प्रवक्ताको जिम्मेवारीमा थिए । आक्रामक र अराजक प्रस्तुतिले उच्च तहका व्यक्तिहरूले उनलाई मन नपराएपनि तल्लो तहका नागरिकहरूले उनको कामको वाईवाई गरिरहे । जसले गर्दा अहिले जुम्लाका उनी भारी मतान्तरले विजयी भए ।

जुम्लाबाट यसअघि २०४८ सालमा नेपाल मजदुर किसान पार्टीबाट डिल्लीबहादुर महत, २०५१ सालमा नेमकिपाबाटै भक्तबहादुर रोकाया, २०५६ सालमा नेकपा एमालेका देवीलाल थापा, २०६४ सालमा नेकपा माओवादीका नरेश भण्डारी, २०७० सालमा नेपाली कांग्रेसका ललितजंग शाही र २०७४ सालमा नेकपा माओवादीका गजेन्द्रबहादुर महत निर्वाचित भएका थिए ।

ज्ञानेन्द्रले जुम्लामा हुने जडीबुटी, स्याउबाट नै जुम्लालाई सम्बृद्धिको मार्गमा अघि बढाउने अठोट लिएका छन् ।

संम्बन्धित समचार

Leave a Reply