संघीय संसदमा दर्ता भएका विधेयकहरु अब के होलान् ?

मंसिर १४,काठमाडौँ । संघीय संसदको एक कार्यकाल पूरा भएको छ । मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको चुनाव भएसँगै अब दोस्रो संघीय संसदको कार्यकाल शुरु हुने तरखरमा छ ।

मंसिर ४ गते भएको चुनावको मत परिणाम आउने क्रम जारी नै छ । अधिकांश स्थानमा भने मत परिणाम आइसकेको छ । चुनाव परिणामलाई नियाल्दा कुनै पनि एक दलको मात्रै बहुमतको सरकार बन्ने स्थिति छैन । नेपाली कांग्रेस र नेकपा एमाले यी दुई पार्टीमध्ये कुनै एकको नेतृत्वमा बन्ने सरकार बाँकी दलहरुको सहयोगमा गठबन्धनकै सरकार बन्ने निश्चित छ ।

मत परिणाम अन्तिम चरणमा पुगेसँगै आम मानिसमा संघीय संसदमा दर्ता भएका विधेयकहरु अब के होलान् ? भन्ने चासो र चिन्ता छ । संघीय संसद सचिवालयका सहायक प्रवक्ता एवं सूचना अधिकारी दशरथ धमलाले संघीय संसदमा दर्ता भएका विधेयकमध्ये केही निस्क्रिय भइसकेको र केही भने विचाराधीन अवस्थामा रहेको बताए ।

उनले प्रतिनिधि सभामा उत्पादित भएर प्रक्रियागत रुपमा रहेका र प्रतिनिधि सभामा विचाराधीन रहेका विधेयकहरु निस्क्रिय भइसकेको बताए । उनले राष्ट्रिय सभामा उत्पत्ति भएर राष्ट्रिय सभामा नै विचाराधीन रहेका विधेयकहरु भने अधिवेशन शुरु भएपछि त्यही अवस्थाबाट शुरु हुने बताए ।

राष्ट्रिय सभामा उत्पत्ति भएर राष्ट्रियसभामा नै विचाराधीन रहेका विधेयकहरु १२ वटा छन् । सहायक प्रवक्ता धमलाले राष्ट्रिय सभामा उत्पत्ति भएर राष्ट्रिय सभामा नै विचाराधीन रहेका बाहेकका विधेयकहरु भने निस्क्रिय भइसकेको बताए । उनले यदि सरकारले तिनै विधेयकहरु ल्याउन चाहेको खण्डमा भने फरक ढंगले ल्याउनुपर्ने र ती विधेयकहरुको पुनः नयाँ प्रक्रिया शून्यबाट शुरु हुने बताए ।

संम्बन्धित समचार

Leave a Reply