चार महिनामा १ हजारभन्दा बढी विद्युतीय सवारी आयात

मंसिर १४,काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो चार महिना (साउन–कात्तिक)मा १ हजारभन्दा बढी विद्युतीय सवारी आयात भएको छ । भदौसम्म यस्तो संख्या ७०५ थियो ।

सरकारले विदेशी विनमय सञ्चिति जोगाउन डिजेल पेट्रोलबाट चल्ने सवारीको आयात रोकेपछि चालु आर्थिक वर्ष २०७९र८० मा विद्युतीय चार पांग्रे सवारीको आयात उच्च दरमा बढेको छ । सरकारले यो वर्ष महँगा मूल्यका विद्युतीय सवारीको भन्सार दर बढाएको छ ।

तर, पेट्रोल सवारीको आयात रोकिएका बेला विद्युतीय सवारीको आयात भने करिब तीन गुणाले बढेको छ । चार महिनामा २ अर्ब ८६ करोड रुपैयाँ मूल्यको इलेक्ट्रिक गाडी आयात भएको छ ।

यस्तो आयातबाट सरकारले ८५ करोड ६२ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । तीन महिनामा २ अर्ब ७३ करोड मूल्य बराबरको १०० किलोवाटसम्मका ९०५ वटा विद्युतीय सवारी नेपाल भित्रिएको भन्सार विभागको तथ्यांकमा देखिन्छ । त्यसैगरी १०० देखि २०० किलोवाटसम्मका २५ वटा र २०० देखि ३०० किलोवाटसम्मका ३ वटा बिजुली गाडी नेपाल भित्रिएका छन् ।

कर सुहलियतका कारण यो वर्ष सय किलोवाटसम्मका विद्युतीय सवारीको आयात ह्वात्तै बढेको छ । बजेटले सस्ता र कम क्षमताका विद्युतीय गाडीलाई करमा बढी सहुलियत दिएकाले सोही रेन्जका बिजुली गाडीको आयात बढेको व्यापारीहरु बताउँछन् ।

नाडाका अध्यक्ष ध्रुव थापा केही हदसम्मको कर सहुलियत, सहज बैंकिङ सुविधा, पेट्रोल डिजेलको मूल्यमा भइरहेको वृद्धि, वातावरणप्रतिको बढ्दो सचेतना र इलेक्ट्रिक सवारी प्रयोगको विश्वव्यापी ट्रेन्ड लगायतका कारण विद्युतीय सवारीमा आकर्षण बढेको बताउँछन् ।

विद्युतीय गाडी प्रवर्द्धनका लागि करमा छुटसँगै रातिको समयमा चार्ज गर्दा छुट दिने र विद्युतीय चार्जिङ स्टेसनको संख्या बढाउने जस्ता योजना पनि सँगसँगै ल्याएमा यस्तो आयात थप बढ्ने नाडाको निष्कर्ष छ ।

गत आर्थिक वर्ष २०७८/७९ मा कुल १ हजार ८०५ वटा विद्युतीय (इलेक्ट्रिक) चारपांग्रे गाडी नेपालमा भित्रिएका थिए ।

संम्बन्धित समचार

Leave a Reply