प्रधानमन्त्री रोजगार कार्यक्रम घोषणा तयारी : देशैभर बेरोजगारको तथ्याङ्क संकलन गरिदै

माघ २८,काठमाडौँ । प्रधानमन्त्री रोजगार कार्यक्रम फागुन १ गते घोषणा हुने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले सोमबार पत्रकार सम्मेलन गरी फागुन १ गते राष्ट्रियसभा गृहमा एक कार्यक्रमकाबीच प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री रोजगार कार्यक्रम घोषणा गर्ने औंपचारिक जानकारी गराएका हुन ।

उनले संविधानले परिकल्पना गरेको समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने परिकल्पनालाई सरकार पार्न सरकारले सबै नागरिकलाई रोजगारीको न्यूनतम व्यवस्था गर्न पनि प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु गर्न लागेको पनि जानकारी दिए ।

७५३ वटै स्थानीय तहमा रोजगार संयोजकले काम थाल्ने

सरकारले दिगो आर्थिक विकासका लागि काम र रोजगारीलाई उच्च प्राथमिकता दिँदै प्रधानमन्त्री रोजगार कार्यक्रम लागू गर्न लागेको मन्त्री विष्टले पत्रकार सम्मेलनमा जानकारी दिए ।मन्त्रालयका अनुसार चैत १ गतेदेखि ७५३ वटै स्थानीय तहमा रोजगार संयोजकले काम थालिनेछ।

देशभरी रहेको बेरोजगारको अवस्थासहितको तथ्याङ्क संकलन लगायतका काम गरिने मन्त्री विष्टले जानकारी दिए । संघ र प्रदेश सरकारहरुले पनि ऐन, नियमावली र निर्देशिकामा गरिएको व्यवस्था बमोजिमका कार्यहरु गरी यो कार्यक्रमको कार्यान्वयन गर्ने छन् ।

सरकारले ल्याउन लागेको यो कार्यक्रममा बेरोजगार भत्ता र निर्वाह भत्ता वितरण गर्ने व्यवस्था गरिएको छ । मन्त्री विष्टले बेरोजगार व्यक्तिलाई एक आर्थिक वर्षमा न्यूनतम सय दिन बराबरको रोजगारी, रोजगार सूचना, परामर्श र सहजीकरण, व्यवसायिक तथा सीप विकास तालिम दिने व्यवस्था पनि सो कार्यक्रममार्फत गर्ने स्पष्ट पारे।  मन्त्री विष्टले निर्वाहमुखी भत्ता राज्यको ढुकुटी सिध्याउने किसिमले नभई सो भत्ता अनुरुपको नागरिकले दायित्व निर्वाह गर्नुपर्ने मन्त्री विष्टले बताए । उनले भने-‘नागरिकले अनिवार्य दायित्व निर्वाह गर्नुपर्नेछ, हामी काम नै दिन सकेनौ भने मात्र निर्वाह भत्ता दिन्छौ ।’

बेरोजगार परिवारलाई भने रोजगारी प्राप्त नगरेको अवस्थामा रोजगारी नपाएको दिनमा न्यूनतम पारिश्रमिकको ५० प्रतिशतका दरले हुन आउने रकमलाई निर्वाह भत्ताको रुपमा उपलब्ध गराउने प्रधानमन्त्री रोजगार कार्यक्रममा उल्लेख गरिएको छ । मन्त्री विष्टले सबैलाई रोजगारीको व्यवस्था गर्न सरकारले यो कार्यक्रम संचालन गरेको पनि बताए ।

त्यसैगरी निर्वाह भत्ता न्यूनतम रोजगारीको अवसर पनि नपाएकाहरुलाई उपलब्ध गराउने उल्लेख गरिएको छ । मन्त्री विष्टले यो कार्यक्रम लागू गर्न देशका सबै स्थानीय तहमा रोजगार सेवा केन्द्र स्थापना गरिने पनि जानकारी दिए । उनले यो कार्यक्रममा कुनै पनि प्रकारको विभेद नगर्ने प्रतिवद्धता जनाएका छन ।

श्रमको सम्मानमा मन्त्रालयको ध्यान

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अब मुलुकमा श्रमको सम्मान गर्ने पद्धतीको विकास गर्नुपर्नेमा जोड दिएको छ । मन्त्रालयका सह सचिव प्रकाश दाहालले श्रमको सम्मान गराउन राष्ट्रव्यापी अभियान सञ्चालन गर्ने बताए । उनले श्रमको सम्मान राष्ट्रको अभियानको नारा नै अघि सारेर मुलुकमा रोजगारीको सुनिश्चितता गराउनु पर्नेमा जोड दिए ।

निजि तथा सरकारी स्तरसंग सहकार्य गरेर रोजगार सिर्जना गराउने प्रयत्नमा सरकार रहेको बताउदै दाहालले अब मुलुकमा कति र कस्ता किसिमका बेरोजगारी रहेको छ भन्ने विषयको खोज गरिने बताए ।

संम्बन्धित समचार

Leave a Reply