भिरबाट खसेको ढुंगाले लागेर ट्रक चालकको मृत्यु

असार ४,मुग्लिन । नारायणगढ मुग्लिन सडकखण्डमा भिरबाट खसेको ढुंगाले लागेर ट्रक चालकको मृत्यु भएको छ । कालीखोलाको पुल नजिक आइतबार राति करिब साढे ९ बजे ढुंगा खसेर ग १ ख ८२२८ नम्बरको ट्रक थिचिएको थियो ।

सो घटनामा ट्रक चालक तनहुँको शुक्लागण्डकी नगरपालिकाका ३६ वर्षीय चालक कृष्ण ढुंगानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

नारायणगढबाट मुग्लिनतर्फ जाँदै गर्दा ढुंगाले लागेर चालक घाइते भएका थिए । उनको उपचारका लागि भरतपुर ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको थियो ।

नारायणगढ–मुग्लिन सडक बिस्तार भएपछि जाममा बस्नु नपरे पनि बेला बेलामा पहिरो झर्ने र ढुंगा खस्ने गरेको छ । यसबाट यात्रा जोखिमपूर्ण बनेको छ ।

यसैबीच चितवनको देवनगरमा ना २१ प ७१८४ नम्बरको मोटरसाइकल सडकमा अनियन्त्रित भई पल्टिँदा भरतपुर महानगरपालिका–१५ फूलबारीका विकास विकको मृत्यु भएको छ ।
आइतबार राति पौने १० बजे भएको दुर्घटनामा मोटरसाइकल चालक विक गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा राति करिब पौने ११ बजेतिर भरतपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

संम्बन्धित समचार

Leave a Reply