विप्लव समुहले भन्यो–‘मन्त्रिपरिषद् बैठकले निर्णय गरेर औपचारिक पत्र पठाए वार्ताका लागि तयार छौँ ‘

चैत्र १,काठमाडौँ ।  बिहीबार सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकार विप्लव समूहसँग वार्ता र छलफलका लागि सधैँ तयार रहेको बताएपछि नेत्र विक्रम चन्द विप्लव समुहले आफ्नो जवाफ दिएको छ ।  सरकारले वार्ताको लागि गरेको आह्वानलाई नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले स्वागत गरेको छ ।

विप्लव नेतृत्वको नेकपाका पोलिटब्यूरो सदस्य मोहन कार्की ‘जीवन्त’ले सरकारले वार्ताका लागि गरेको आह्वान स्वागतयोग्य रहे पनि ढिला गरी आह्वान भएको बताए ।

आफ्नो पार्टीलाई प्रतिबन्ध लगाएर वार्ताका लागि गरिएको आह्वान स्वागतयोग्य नै रहे पनि औचित्य भने नरहेको कार्कीले बताए।

एकातिर प्रतिबन्ध लगाउने भन्ने निर्णय गर्ने, अर्कोतिर वार्ताका लागि बोलाएको जस्तो गर्नु सरकारको द्वैध चरित्र भएको उनले भने। आफूहरूलाई प्रतिबन्ध लगाएर सरकारले जबर्जस्ती युद्धमा धकेल्न खोजेको उनको भनाई छ ।

‘हामीलाई कहिल्यै पनि वार्ताका लागि औपचारिक रुपमा सरकारले बोलाएको छैन’ पोलिटब्यूरो सदस्य कार्कीले भने, ‘मन्त्रिपरिषद् बैठकले निर्णय गरेर वार्ताका लागि औपचारिक पत्र पठाए जहिल्यै पनि वार्ता गरेर समस्या समाधान गर्न हामी तयार छौँ ।’

वार्ताका लागि बोलाएको भनेर बाहिर हल्ला गरिएको भए पनि पार्टीलाई पत्र लेखेर औपचारिक रुपमा वार्ताका लागि सरकारले कुनै पहल नगरेको पनि उनले बताए ।

पार्टीले एकीकृत जनक्रान्तिको बाटो अंगालेर अघि बढेको भन्दै उहाँले स्वाधीन अर्थतन्त्रको विकास, निःशुल्क शिक्षा, स्वास्थ्य, रोजगार जस्ता व्यवस्था स्थापित नहुँदासम्म आफ्नो पार्टी लडिरहने पनि उनले बताए । यो राज्यसत्ता भंग गर्दै एकीकृत जनक्रान्तिमार्फत राज्यसत्ता स्थापित गर्ने अभियानमा आफूहरु अघि बढेको पनि कार्कीले बताए।

सरकारले आफ्नो पार्टीलाई लगाएको प्रतिबन्ध फिर्ता लिएर वार्ताका लागि औपचारिक पत्र पठाए त्यसका लागि आफूहरु पनि तयार रहेको उनले बताए । ‘हामी पनि देश सम्वृद्ध बनाउने अभियानमा नै छौँ, नागरिकले दुःख नपाउन् भन्नेमा नै छौँ,’ उनले भने, ‘तर त्यसका लागि सरकारले इमान्दार बनेर वार्ताको वातावरण तयार पार्नुपर्छ ।’

संम्बन्धित समचार

Leave a Reply