पोलार्ड चम्कदा पन्जाबमाथि मुम्बईको रोमान्चक जित

चैत २८, काठमाडौँ । घरेलु टोली मुम्बई इन्डियन्सले भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोमान्चक जित निकालेको छ । बुधबार भएको खेलमा मुम्बईले किङ्स इलाभेन पन्जाबलाई ३ विकेटले हराएको हो ।

वान्खडे क्रिकेट स्टेडियममा पन्जाबले दिएको १९८ रनको उच्च लक्ष्य मुम्बईले पुरै २० ओभर खेल्दै ७ विकेट गुमाएर पुरा गर्यो । मुम्बईको जितमा कप्तान केइरन पोलार्डले अर्धशतकीय इनिङ्स खेले ।

विस्फोटक ब्याटिङ गरेका पोलार्डले ८३ रन बनाए । सातौं विकेटको रुपमा आउट हुनुअघि पोलार्डले ३१ बलमा १० छक्का र ३ चौका प्रहार गर्दै मुम्बईको जितको आधार तय गराएका थिए ।

यस्तै क्विनटन डी ककले २४ रन जोड्दा सुर्य कुमार यादवले २१ रन बनाए । त्यस्तै हार्दिक पाण्डया १९ रनमा आउट हुँदा सिद्देश लाड र अल्जारी जोसेफले समान १५/१५ रन बनाए ।

पन्जाबका मोहमद शामीले ३ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले पुरै २० ओभर खेल्दै ४ विकेट गुमाएर १९७ रन बनाएको थियो । पन्जाबका लागि लोकेश राहुलले शतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् ।

ओपनर राहुलले अविजित रहदै १०० रनको योगदान दिए । यस्तै क्रिस गेलले अर्धशतकीय इनिङ्स खेले । गेल ६३ रनमा आउट भए ।

मुम्बईका हार्दिक पाण्डयाले २ विकेट लिए ।

जितसंगै मुम्बईले ६ खेलबाट ८ अंक जोडेको छ । र, मुम्बई तेस्रो स्थानमा उक्लिएको छ ।

पन्जाबले ७ खेलबाट ८ अंक नै जोडेको छ । पन्जाब चौंथो स्थानमा छ ।एजेन्सी ।

संम्बन्धित समचार

Leave a Reply