देशभर विप्लव समुहको बन्दको प्रभाव, ठाउँठाउँमा वम विष्फोट

बैशाख ५, काठमाडौँ । पोखराका दुई ठाउँमा शंकास्पद बस्तु भेटिएका छन् । पोखराको नदीपुरस्थित प्रदेशसभा भवन नजिकै सडकमा कागजको डल्लो बेरेर राखेको पाइएको हो । उक्त बस्तु बम हुन सक्ने प्रहरीको आंशका छ । नेपाली सेनाको बम डिस्पोजल शंकास्पद बस्तु हटाउन खटिएको छ । लेखनाथस्थित सैनिक बस्तीमा पनि त्यस्तै शंकास्पद बस्तु भेटिएको छ । त्यसलाई डिस्पोज गर्नका लागि सेनाको टोली त्यसतर्फ जाँदैछ ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आजका लागि नेपाल बन्द घोषणा गरेको थियो । शंकास्पद बस्तुहरु पनि सोही समूहले राखेको हुन सक्ने आशंका छ । यद्यपी, बन्दको प्रभाव पोखरामा सामान्य छ । ठूला गाडीहरु नचले पनि निजी साधनहरु चलिरहेका छन् । पसलहरु भने अन्य दिनभन्दा कम खुलेका छन् ।

उता, हेटौंडा उपमहानगरपालिकाको वडा नं. ८ कार्यालय अगाडि ‘बम’ लेखेर राखिएको अवस्थामा प्रेसरकुकर फेला परेको छ । वडा कार्यालयको गेटमै प्रेसरकुकरमा ‘बम’ लेखेर प्रेसरकुकर राखेको पाइएपछि सुरक्षाकर्मीले सो स्थान घेराबन्दी गरी निस्क्रिय बनाउने प्रयास गरेका छन् ।

विप्लव नेतृत्वको समूहले बन्द आह्वान गरेका कारण उक्त बम सोही समूहले राखेको हुन सक्ने प्रहरीको आशंका छ । यस्तै हेटौंडा उपमहानगरपालिका–१९ तिनताप्केमा पनि शंकास्पद बस्तु फेला परेको जनाइएको छ । तारसहित प्रेसरकुकर फेला परेपछि सो क्षेत्रमा पनि सुरक्षाकर्मी पुगेर उक्त वस्तुको पहिचान तथा निस्क्रिय पार्ने प्रयास गरिरहेको जनाइएको छ ।

यस्तै, उपत्यकासहित देशभरी नै बिहीबार फाट्टफुट्ट मात्र गाडी चलेका छन् । बिहानैदेखि लामो तथा छोटो दूरीका गाडी फाट्टफुट्ट मात्र चल्दा यात्रुलाई भने सास्ती भएको छ । परीक्षा दिन हिँडेका विद्यार्थी मर्कामा परेका छन् । यस्तै बजार र कलकारखाना पनि खुलेका छैनन् । प्रतिबन्धित नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले गरेको बन्दको देशभरी नै आंशिक प्रभाव परेको प्रहरीले जनाएको छ ।

सुरक्षाकर्मीले सुरक्षा दिइरहेकाले ढुक्क भएर गाडी चलाउन प्रहरीले आग्रह गरेको छ । उता, पाल्पाको रिब्दीकोट गाँउपालिकाको भवनमा बम विस्फोट भएको छ । आज बिहान भएको विस्फोटबाट कार्यालयमा क्षति पुगेको गाउँपालिका अध्यक्ष नारायणबहादुर जिसीले जानकारी दिनुभयो ।

कार्यालयको झ्यालढोका, छानो, कम्प्युटर, फोटोकपी मेशिनलगायतका सामग्रीमा क्षति पुगेको अध्यक्ष जिसीले बताउनुभयो । कार्यालयमा टायर बम विस्फोट भएको र घटनाको बारेमा अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । बिहीबार विप्लव नेतृत्वको नेकपाले नेपाल बन्दको आव्हान गरेकाले त्यही समूहले बम विस्फोट गराएको हुन सक्ने प्रहरीको अनुमान छ । बम विस्फोटपछि स्थानीय त्रसित बनेका छन् ।

संम्बन्धित समचार

Leave a Reply