काम फटाफट भएमा पनि मेलम्ची खानेपानी अझै डेढ वर्ष कुर्नुपर्ने

साउन ५, काठमाडौँ । सिन्धुपाल्चोकस्थित मेलम्ची खोलाको पानी काठमाडौँ उपत्यकामा ल्याउने काम सुरु भएको तीन दशक नाघ्यो । काम सुरु भएको ३१ वर्ष हुँदा पनि मेलम्चीको पानी आएको छैन ।

काम फटाफट भएमा अझै डेढ वर्ष कुर्नुपर्ने देखिएको छ । गत जेठ ६ गते मन्त्रिपरिषद् बैठकले मेलम्ची खानेपानी आयोजनाको आवश्यक निर्माण कार्य गर्न मेलम्ची खानेपानी विकास समितिलाई निर्देशन दिएपछि आयोजनाले निर्माणको बाँकी काम गर्न गएको जेठ १७ गते बोलपत्र गरेको छ । सुरुङ निर्माणका लागि दुई र हेडबक्स निर्माणका लागि दुईवटा कम्पनीले बोलपत्र दर्ता गराएका थिए ।

ती मध्ये एउटा चिनियाँ कम्पनीको बोलपत्र छ । सबै बोलपत्रको प्राविधिक मूल्याङ्कन गरी स्वीकृतिका लागि एसियाली विकास बैङ्क (एडीबी) मा पठाइएको जानकारी समितिका कार्यकारी निर्देशक सूर्यराज कँडेलले दिनुभयो । एडीबी आयोजनाको प्रमुख लगानीकर्ता हो । कार्यकारी निर्देशक कँडेल भन्नुहुन्छ, “बोलपत्रको प्राविधिक मूल्याङ्कन गरी एडीबीमा पठाएका छौँ, दुई–तीन हप्तामा सम्झौता हुनसक्छ । आउने २०७७ असार मसान्तसम्म अधिकांश काम सक्ने योजना छ । ”

राजधानीलाई पिउने पानी उपलब्ध गराउने सपना बोकेको मेलम्चीको बाँकी कामको लागत दुई अर्ब ५० करोड रुपियाँ अनुमान गरिएको छ । सरकारले मेलम्चीका लागि तीन अर्ब रुपियाँ तथा याङ्री र लार्के परियोजनाका लागि थप तीन अर्ब रुपियाँ गरी छ अर्ब रुपियाँ बजेट विनियोजन गरेको छ ।

मेलम्चीको पानीले मात्रै राजधानीवासीको माग पूरा गर्न नसक्ने भएकाले सरकारको दीर्घकालीन सोच अनुसार याङ्री र लार्के खोलाको पानी पनि मेलम्चीमा ल्याउने योजना छ । तीन दशक अघि पञ्चायत ढलेसँगै अन्तरिम सरकारका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले मेलम्चीको पानी ल्याएर जनतालाई खानेपानीका साथै सडक पखाल्ने आश्वासन दिनु भएको थियो । त्यसपछिका हरेक सरकारको उच्च प्राथमिकतामा रहँदै आए पनि मेलम्ची भने परपर सर्दै गइरहेको छ ।

मेलम्ची, याङ्री र लार्के तीनवटा खोलाको पानी जम्मा गरेर ल्याउँदा काठमाडौँमा दैनिक ५२ करोड लिटर पानी उपलब्ध हुने छ । हाल उपत्यकामा दैनिक ४५ करोड लिटर पानीको माग छ भने आपूर्तिचाहिँ ज्यादै न्यून अर्थात् वर्षातमा १६ करोड लिटर मात्र छ । अझ सुक्खायाममा १२ करोड लिटर मात्रै आपूर्ति छ । सन् १९८८ मा अस्टे«लियन कम्पनी एसएसईसीले काठमाडौँमा पानीको समस्याको दीर्घकालीन समाधानका उपायहरूको अध्ययन गरेको थियो । त्यसको एक दशकपछि सन् १९९८ मा ब्रिटिस कम्पनी बिन्नी पार्टनरले मेलम्ची आयोजनाको डीपीआर बनाएको थियो ।

संम्बन्धित समचार

Leave a Reply