कांग्रेसद्धारा सरकारविरुद्ध देशब्यापी सडक आन्दोलन घोषणा

साउन १,काठमाडौँ । नेपाली कांग्रेसले सरकारविरुद्ध देशब्यापी सडक आन्दोलन घोषणा गरेको छ ।

मंगलबार पार्टी कार्यालयमा बसेको पार्टीका भ्रातृ एवं शुभेच्छुक संस्थाका केन्द्रीय पदाधिकारीहरुको बैठकले वर्तमान सरकारको अधिनायकवादी एवं जनविरोधी क्रियाकलाप गरिरहेको भन्दै विरोध प्रदर्शनका कार्यक्रमहरु सार्वजनिक गरेको हो ।

बैठकले साउन ३, ५ र ८ गते दिउँसो १ बजे काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्ने घोषणा गरेको छ ।

३ गते प्रजातन्त्रवादी प्राध्यापक संघ, नेपाल र प्रजातन्त्रवादी चिकित्सक संघको अगुवाइमा ५ गते तरुण दलको अगुवाइमा र ८ गते कांग्रेसको काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला समितिको अगुवाइमा विरोध प्रदर्शनको निर्णय गरेको हो ।

त्यस्तै साउन १५ गते सबै जिल्ला सदरमुकाममा विरोध प्रदर्शन गर्न पार्टीका सबै तहका समितिहरुलाई निर्देशन दिएको छ ।

महामन्त्री डा. शशांक कोइरालाले मंगलबार विज्ञप्ति जारी गरी संघीय सरकार र प्रदेश सरकारहरु लामो संघर्षबाट प्राप्त लोकतान्त्रिक संविधानको भावना र मर्म अनुसार अगाडि बढ्नुको सट्टा कानूनी शासनको खिल्ली उडाउँदै मनोमानी ढंगबाट चलिरहेको आरोप लगाएका छन् ।

कांग्रेसले जिल्ला जिल्लामा हुने विरोध प्रदर्शनमा सहभागी हुन जिल्लाका भातृ तथा सुभेच्छुक संस्था, क्षेत्र, गाउँ र नगर इकाइलाई पनि निर्देशन जारी गरेको छ ।

अहिलेको सरकार संघीय संसद र प्रदेशसभाका सभामुख र उपसभामुख अलग–अलग दलबाट हुनुपर्ने संवैधानिक व्यवस्थाको ठाडो उल्लघंन गरेको, संघीय व्यवस्थाको भावना विपरीत अधिकारहरुको केन्द्रीकरण गरेको, शक्ति पृथकीकरणको सिद्धान्तलाई खिल्ली उडाउँदै स्वतन्त्र न्यायालयप्रति आक्रामक रुपमा प्रस्तुत भएको कांग्रेसको आरोप छ ।

संम्बन्धित समचार

Leave a Reply