नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठमाथि छानविन समिति गठन

कार्तिक १८, काठमाडौं । अनियमितताको अरोप लागेका नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठमाथि छानविन गर्न समिति गठन भएको छ ।

सोमबार बिहान बसेको राष्ट्र बैंक सञ्चालक समितिको बैठकले श्रेष्ठमाथि छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको राष्ट्र बैंकका सहायक प्रवक्ता गोविन्द नागिलाले जानकारी दिए ।

समितिमा श्रीराम पौडेल, रामजी रेग्मी र सुवोधकुमार कर्ण छन् । आरोप लागेर छानविन समिति बनेपछि श्रेष्ठको पद स्वतः निलम्बनमा परेको छ । नेपाल राष्ट्र बैंक ऐन २०५८ अनुसार उनी स्वतः निलम्बनमा परेको नागिलाले जानकारी दिए ।

मन्त्रिपरिषद्को बैठकले नै श्रेष्ठविरुद्ध खराब कर्जा लुकाउन सहयोग गरेको आरोपबारे छानविन गर्न राष्ट्र बैंकको सञ्चालक समितिलाई सिफारिस गरेको थियो । श्रेष्ठमाथि कारबाहीको सिफारिस गर्न आइतबार सञ्चालक समितिको बैठक बसेपनि कुनै निर्णय गर्न सकेको थिएन ।

श्रेष्ठमाथि प्रक्रिया पूरा नहुँदै विभिन्न कम्पनीको लाभांश विदेश लैजान सहयोग गरेको र विदेशबाट ल्याएको पैसा निकाल्न सहयोग गरेको आरोप लागेको छ । आरोप पुष्टि भएका राष्ट्र बैंकको सञ्चालक समितिले कारबाहीको लागि सरकारलाई सिफारिस गर्नेछ ।

संम्बन्धित समचार

Leave a Reply