मेघौलीमा थप सुविधा सम्पन्न पर्यटकीय होटलमा लगानी बढ्दै

मंसिर ८,चितवन । प्रदेश ३ सरकारले उत्कृष्ट पर्यटकीय क्षेत्र घोषणा गरेको चितवनको मेघौलीमा थप सुविधा सम्पन्न पर्यटकीय होटलमा लगानी बढ्न थालेको छ । चितवन राष्ट्रिय निकुञ्जसँगै जोडिएको मेघौली नारायणी र राप्तीको दोभानमा रहेकाले जङ्गल सफारी र सूर्यास्त अवलोकनका लागि आउने पर्यटकलाई लक्षित गरी पर्यटन व्यवसायीहरू लगानी गर्न आकर्षित भएका हुन् ।

जिल्ला पर्यटन विकास समितिका महासचिव विश्व सुवेदी पछिल्लो समय मेघौलीमा लगानी गर्न चाहना राख्नेहरू बढ्दै गएको बताउछन ।

“आफैमा पनि जङ्गल सफारी र सूर्यास्त अवलोकनका लागि मेघौली देशकै नमुना स्थान हो । अहिले प्रदेश सरकारले उत्कृष्ट पर्यटकीय गन्तव्य घोषणा गरेपछि त झनै लगानीकर्ताले यस क्षेत्रमा चासो दिन थालेका छन्”, उनले भने ।

यसै क्रममा रत्ननगरको सौराहा चोकमा रहेको हंश सहकारी संस्थाका अध्यक्ष गौरीश्वर सापकोटाले मेघौलीमा होटल स्थापना गर्ने भन्दै राप्ती किनारमा जग्गा खरिद गरेका छन । “राप्ती किनारमा जग्गा किनेको छु । अब पर्यटकलाई लक्षित गरेर होटल स्थापना गर्ने गृहकार्य भइरहेको छ”, उनले भने।

काठमाडौँमा रहेको होटल साङ्ग्रिलाले पनि यहाँ नयाँ होटल स्थापना गर्ने तयारी गरिरहेको छ । उसले नयाँ होटल स्थापनाका लागि अहिले आफ्नो जग्गामा पर्खाल लगाइरहेको छ ।
पोखराको होटल बाराहीले यसअघि नै मेघौलीमा होटल सञ्चालनमा ल्याइसकेको छ भने चौधरी ग्रुपको मेघौली सेराई ताज सफारी पनि यहीँ छ । यसका अलवा मेघौली रिसोर्ट, गोलाघाट रिसोर्ट, होटल सराईलगायतका १२ भन्दा बढी पर्यटकीय होटल यहाँ छन् ।

नयाँ होटल स्थापनाका लागि व्यवसायीहरूको समेत आकर्षण बढेको छ । व्यवसायीहरूका अनुसार अहिले मेघौलीमा होटल स्थापनाकै लागि ५० जनाभन्दा बढीको जग्गामा लगानी छ । “पाँच करोडदेखि पचास करोड रुपियाँसम्म लगानी गरेर नयाँ नयाँ होटल स्थापनाका लागि व्यवसायी उत्साहित देखिन्छन्”, मेघौली पर्यटन विकास समितिका अध्यक्ष हरिशचन्द्र महतोले भने ।
उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष सहनलाल प्रधानले मेघौलीलाई पर्यटकीय दृष्टिले विकास गर्न सहज भएकाले पनि लगानी गर्नेक्रम बढेकोे बताए ।

“मेघौली आफै प्राकृतिक सुन्दरताले उत्कृष्ट छ त्यसैले पनि व्यवसायीहरूको लगानीमा आकर्षण बढेको हो”, उनले भने, “प्राकृतिक छटाले सिगारिएको मेघौलीमा जग्गाको मूल्य कम हुँदा पनि लगानी गर्ने क्रमशः बढ्दै गएका हुन् ।” मेघौली जङ्गल सफारीमा पर्यटनमा नेपालमै पहिलो विकास भएको क्षेत्र हो । पछिल्लो समय ओझेलमा परेको यो क्षेत्र २०२२ देखि वन र वन्यजन्तुमा आधारित पर्यटनको विकास भएको क्षेत्र हो ।

महासचिव सुवेदी अहिले मेघौलीको पर्यटकीय होटलले साढे तीन अर्ब रुपियाँका हाराहारीमा लगानी गरेका र अझै थप लगानीको प्रक्रिया सुरु भइसकेको जानकारी दिए । “चितवनकै पर्यटकिय क्षेत्र सौराहा, पटिहानी जगतपुरका तुलनामा मेघौलीमा जग्गाको मूल्य पनि सस्तो छ । नदी किनारको जग्गा भएकाले पनि पर्यटकीय गन्तव्य बनाउन सजिलो भएकाले काठमाडौँ पोखरालगायतका क्षेत्रका ठूला होटल पनि अहिले यहाँ लगानी गर्न उत्साहित देखिएका छन्”, उनले भने ।

मेघौलीमा रहेका आठवटा मध्यवर्ती सामुदायिक वन र यहाँ रहेका वन्यजन्तु र चराचुरुङ्गी पनि मेघौलीका विशेष आकर्षण हुन् । यहाँ बाघ, गैँडाजस्ता दुर्लभ वन्यजन्तु सहजै अवलोकन गर्नसकिन्छ । राइनो पार्क, शिवालय पार्क, थारू सङ्ग्राहलय, सांस्कृतिक घर, हात्ती सार, निकुञ्ज प्रवेशद्वार पनि मेघौलीको आकर्षण हुन् ।

थारू होमस्टे र थारू परिकारका खाना मेघौलीको मौलिकतामा पर्छ । यसलाई बचाइराख्न जरुरी छ । प्रदेश ३ सरकारले प्रदेशभित्रका १३ वटा जिल्लामा १० वटा पर्यटकयी गन्तव्य घोषणा गर्दा मेघौलीलाई विशेष प्राथमितामा राखेर उत्कृष्ट गन्तव्य बनाएपछि यो क्षेत्रमा झनै लगानीकर्ताको आकर्षण बढी हुन थालेको हो ।

संम्बन्धित समचार

Leave a Reply