मेडिकल कलेजका विद्यार्थीद्वारा बोर्ड परीक्षा बहिष्कार

मंसिर १९, काठमाडौं । सरकारले मेडिकल कलेज सञ्चालककै पक्षपोषण हुने गरी दुई शैक्षिक सत्रमा उठाएको बढी शुल्क मात्रै फिर्ता गर्ने सहमति गरेपछि विद्यार्थीहरू वार्षिक परीक्षा बहिष्कारमा उत्रिएका छन् ।

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धनप्राप्त चितवन, युनिभर्सल, नेसनल र जानकी मेडिकल कलेजका पहिलो र दोस्रो वर्षका बिडिएस र नर्सिङका विद्यार्थीले बुधबारको परीक्षा बहिष्कार गरेका हुन् । यी कलेजका एमबिबिएस पहिलो र दोस्रो वर्षका विद्यार्थीले पनि बिहीबारदेखि तोकिएको परीक्षा बहिष्कार गर्ने निर्णय गरेका छन् ।

बुधबार चितवन मेडिकल कलेजका बिडिएस र नर्सिङका विद्यार्थीले परीक्षा बहिष्कार गर्दै प्रवेशपत्र जलाए । विद्यार्थीले आठवटै संकायका विद्यार्थीसँग असुलेको बढी रकम फिर्ताको माग गर्दै आएका छन् । कलेजले आफूहरूको माग सम्बोधन नगरेसम्म परीक्षा नदिने एमबिबिएस पहिलो वर्षमा अध्ययनरत अमृत रायमाझीले बताए । युनिभर्सल मेडिकल कलेजका विद्यार्थीले परीक्षा बहिष्कार गर्दै पेनडाउन गरेका छन् ।

१० मंसिरमा सरकारले एमबिबिएस र बिडिएसका विद्यार्थीको मात्रै पहिलो र दोस्रो वर्षको शुल्क फिर्ता या समायोजन गर्ने गरी कलेज सञ्चालकसँग सहमति गरेको थियो । विद्यार्थीले भने सबै संकायका सबै ब्याचमा उठाएको बढी शुल्क फिर्ता गरे मात्र परीक्षामा सहभागी हुने माग गर्दै आएका थिए ।

यसअघि २१ कात्तिकमा तय भएको परीक्षा विद्यार्थी आन्दोलनकै कारण एक महिना धकेलिएको थियो । चिकित्सा शिक्षा संघर्ष समितिका संयोजक डा. मिलन गैरेले माग पूरा नभएका कारण परीक्षा बहिष्कार गरेको बताए । नयाँपत्रका दैनिकमा खबर छ ।

संम्बन्धित समचार

Leave a Reply