निर्मला हत्या प्रकरणः अनुसन्धानको सुई दिलीपतिरै

मंसिर २३,काठमाडौँ । कञ्चनपुर भीमदत्त नगरपालिकाकी १३ वर्षीया निर्मला पन्तको बलात्कार तथा हत्या भएको १६ महिनापछि पनि अनुसन्धानको सुई पुरानै आरोपी दिलपसिंह विष्टवरिपरि घुमिरहेको छ।

निर्मला पन्त बलात्कार तथा हत्या प्रकरण घाँटीमा बिझेको काँडासरह अनुभूति भइरहेका बेला प्रहरीले पछिल्लो पटक अनुसन्धानको सुई विष्टतर्फ घुमाएको हो।

केही दिनअघि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) प्रमुख डिआइजी निरजकुमार शाहीलाई लिएर प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल आफैं सुदूरपश्चिमको भ्रमणमा गएका थिए।

गत हप्ता नै प्रहरीले सो घटना सुल्झाउने गरी आशंकित व्यक्ति पक्राउ गर्ने तयारी थालेको थियो। प्रहरी महानिरीक्षक खनाल सिआइबीका प्रमुख डिआइजी शाहीलाई लिएर धनगढीसम्म पुगेर आएलगत्तै विष्टलाई पक्राउ गर्ने तयारी भएको थियो। तर त्यहाँ खटिएका केही अधिकृतहरूको सुझावलाई ध्यानमा राखेर केही समयलाई पछि सारिएको छ।

एसएसपी रामदत्त जोशी लामो समयदेखि त्यही कामका लागि सुदूरपश्चिममा खटिएका छन्। स्रोतका अनुसार आशंकित व्यक्ति पक्राउ गर्न यथेष्ट प्रमाण जुटाउनुपर्ने भएकाले पनि प्रहरी केही दिन पछि हटेको हो।

प्रहरी महानिरीक्षक खनालले हत्यासँग सम्बन्धित प्रमाण बलियो बनाउन सिआइबीलाई निर्देशन दिइसकेका छन्। एसएसपी जोशी अहिले धनगढीमा छन् भने सिआइबीका निलम्बित डिएसपी अंगुर जिसीको मुद्दा कञ्चनपुरमै भएकाले उनी आउजाउ गरिरहेका छन्।

गृहमन्त्रालयले राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका पूर्वप्रमुखसमेत रहेका डिएनए विशेषज्ञ जीवनप्रसाद रिजाल नेतृत्वमा डाक्टर तुलसी कँडेल र दिनेशकुमार झा सदस्य रहेको छानबिन समिति गठन गरेको थियो।

सो समितिले डिएनएको नमुना परीक्षणमै त्रुटि भएकाले सो घटनामा डिएनएबाट दोषी पत्ता नलाग्ने निष्कर्षसहितको प्रतिवेदन गत ५ कात्तिकमा गृह मन्त्रालयलाई दिइसकेको छ । डिएनए परीक्षणमै त्रुटि भएको ठहर भएपछि परिस्थिति प्रमाणलाई आधार बनाएर प्रहरीले अनुसन्धान अघि बढाएको छ।

संम्बन्धित समचार

Leave a Reply