सांसद बस्नेतको टिप्पणी : ‘यो समय इतिहासको ब्याज खाएर उफ्रने होइन’

मंसिर २९,भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले वर्तमान समय विकास र समृद्धिको साथमा तिव्र आर्थिक बृद्धिदर गरी मुलुकलाई समृद्ध बनाउनुपर्ने समय भएकाले वर्तमान अवस्थालाई पुरानो इतिहासको ब्याज खाएर उफ्रने नभई नयाँ इतिहासको निर्माण गर्ने यात्रामा दौडनुपर्ने बताएका छन ।

प्रदेश नं ३ सरकारको स्वीकृत योजना अन्तर्गत विनियोजित रु १ करोडको लागतमा सूर्यविनायक नगरपालिका वडा नं ७ तिथली मगर गाउँ सडक विस्तार तथा स्तरोन्नतीको शिलान्यास कार्यक्रममा बोल्दै सांसद बस्नेतले विगतमा लामो समयसम्म भक्तपुरमा नेतृत्व गर्ने जनप्रतिनिधिका कारण विकासबाट जनता टाढा भएको उल्लेख गर्दै अबका दिनमा भक्तपुर विकासमा बक्ति मुनीको अध्यारो हुनु नपर्ने बताए ।

विगत केही वर्ष अघिसम्म गुण्डुमा विरामीलाई लिन एम्बुलेन्स समेत आउन गाह्रो मान्ने अवस्था रहेको तितो यथार्थ प्रस्तुत गर्दै सांसद बस्नेतले बर्तमान समयका निर्वाचित जनप्रतिनिधिले भक्तपुरको विकासको मुहान परिवर्तन गरेको बताए । उनले गुण्डु आउने मानिस एक पटक किवाचोकको विकास हेरेर जाउँ भन्ने गरी नमुना योग्य भएको समेत उल्लेख गरे ।

उनले भने, ‘विगत केही वर्ष अघिसम्म गुण्डुमा विरामीलाई लिन एम्बुलेन्स समेत आउन गाह्रो मान्ने अवस्था रहेको थियो । अहिले ८ मिटर तथा ११ मिटरका सडकहरु भक्तपुरको चारै दिशामा तिव्र गतिका साथ निर्माणको चरणमा छन् । गुण्डुको विकास अन्य ठाउँबाट आउने वातावरणको अन्त्य गरी गुण्डुबाट अन्य ठाउँ जाने वातावरण सिर्जना भएको छ । सडक सञ्जालमा गुण्डुबाट चारै दिशा जाने सडकहरु निर्माण भइरहेका छन् ।’

भक्तपुर विकासको पहरेदार वर्तमान जनप्रतिनिधि रहेको उल्लेख गर्दै उनले तीनवटै सरकारसँग पुलको रुपमा काम गरी समन्वय र सहकार्य गरी जनताको आवश्यकता तथा चाहना अनुसारका विकासको पुलको रुपमा काम गर्ने उद्घोष गरे।

यो वा त्यो बहानामा विकासलाई कसैले रोक्न नमिल्ने उल्लेख गर्दै उनले विगतको राम्रो कामलाई साथमा लिई नराम्रो कामलाई सच्याउदै अघि बढ्नुको कुनै विकल्प नभएको बताए।

विकासको लागि पहलकर्ता अपरिहार्य रहेको उल्लेख गर्दै उनले हिमचोकको सडकलाई यो आर्थिक वर्षमा ३ करोड बजेट विनियोजन भएको जानकारी गराए । भक्तपुरको जगातीमा रहेको यातायात व्यवस्था कार्यालयलाई पार्किङ लगायतका अति आवश्यक कुराहरुमा निकै समस्या रहेकाले त्यसलाई समाधान गर्न नगरपालिकाले गुण्डुमा जग्गाको व्यवस्था गर्ने निर्णय भइसकेको जानकारी गराउँदै उनले समपुरक बजेटको माध्यमबाट उक्त कार्यको लागि प्रदेश सरकारबाट एक करोड तथा नगरपालिकाबाट एक करोड बजेट विनियोजन गर्ने तयारी भइरहेको जानकारी गराए। उनले हात्ती गैडा एरियालाई खेलकुद तथा मर्नीङ वाल्कको क्षेत्रको रुपमा विकास गर्ने योजना अनुरुप वातावरण विभागबाट एक करोड बजेट छुट्याइएको समेत जानकारी गराए ।

कार्यक्रममा प्रदेश नं। तीनका सांसद शसी जंग थापाले आगामी दिनमा भक्तपुरमा आर्थिक अभावका कारण विकास नरोकिने बताउँदै जनताको विकास प्रतिको सपना पुरा गरेरै छोड्ने प्रतिवद्धता जनाउनुभयो । जनतको आवश्यकता अनुसारको योजना ल्याउन सवै जनप्रतिनिधि, राजनीतिक दल तथा स्थानीयवासी तदारुकता देखाउनुपर्ने उल्लेख गर्दै उक्त जनताको चाहना अनुसारको योजनालाई सार्थकता तुल्याउन प्रदेश सरकारबाट खेल्नुपर्ने भूमिकामा कुनै पनि कन्जुस्याई नहुने स्पष्ट पार्नुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख सरिता कुँवर, वडाध्यक्ष रवीन्द्र सापकोटालगायतले आ–आफ्नो धारणा राखेका थिए ।

संम्बन्धित समचार

Leave a Reply