न न्याय न राहत

पौष ४, काठमाण्डौ । २०६६ फागुन २६ गते हरिहरपुर–२ कोप्सेराका आठ जना स्थानीय बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको बन क्षेत्रमा काउलोको रुखबाट बोक्रा ताछ्दै थिए । बेलुका आठ बजेतिर निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको गस्ती आइपुग्यो । सेना आएको थाहा पाएपछि रत्नबहादुर सहित केही भागे । सेनाले १३ वर्षीया बालिका चन्द्रकला सुनार सहित ३५ वर्षीया देवीसरा र २८ वर्षीया अमृताको हत्या गर्‍यो । सँगै रहेका कृष्णबहादुर सुनारलाई पक्राउ गर्‍यो । घटना घटेको १० वर्ष भयो । अहिलेसम्म पीडितहरुले न न्याय पाएका छन्, न सरकारबाट राहत नै ।

छोरी चन्द्रकला, पत्नी देवीसरा र भाउजु अमृता गुमाएका रत्नबहादुर न्यायको खोजीमा वीरेन्द्रनगर धाइरहेका छन् । पीडित परिवार तत्कालिन ज्वाला दल गणका उपसेनानी सुबोध कुँवर सहित १७ जनालाई कारवाही गर्न माग गर्दै विभिन्न निकाय धाइरहेका छन् । ‘घटना घटेको १० वर्ष हुन लाग्यो, अहिलेसम्म न्याय मिलेको छैन्,’ उनले भने, ‘जीवनभर साथ दिने पत्नी र फूलजस्ती छोरी अनि भाउजु गुमाउँदाको पीडा अहिलेसम्म कसैले पनि बुझिदिएनन् ।’ बिहीबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरेर पीडितहरुले चाँडो न्याय र क्षतिपूर्ति उपलब्ध गराउन माग गरे । पीडित परिवारले अहिलेसम्म सरकारबाट किरिया खर्चवापत तीन लाख रुपैयाँ मात्रै पाएका छन् । रत्नबहादुरले वनमा काउलो काट्न गएर फर्कदा निकुञ्ज क्षेत्रमा पानी खान र काउलो सुकाउन मिल्ने ठाउँ भएकाले आफूहरु त्यहाँ बसेको बताउँछन् ।
‘जंगलबाट काउलो र झाडु ल्याएर बजारमा विक्री गरेर वर्षौदेखि जिविकोपार्जन गर्दै आएका थियौं,’ उनले भने, ‘विना गल्ती आफन्त मार्नेलाई कारवाहीको माग गर्न थालेको १० वर्ष हुन लाग्यो, अहिलेसम्म न्याय पाएका छैनौं।’

घटनापछि गठित संसदीय समिति, राष्ट्रिय मानवअधिकार आयोग, महिला आयोग, अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक लगायतका संघ–संस्थाहरुले मारिएका महिलाहरु निर्दोष र निहत्था रहेको निश्कर्ष निकालेको थियो। सभासद् विनोद पहाडीको संयोजकत्वमा गठित १० सदस्यीय संसदीय छानबिन समितिले घटनाको अनुसन्धान गरेर प्रतिमृतक १० लाख रुपियाँ क्षतिपूर्ति दिनुपर्ने प्रतिवेदन सरकारलाई बुझाएको थियो । यो खबर आजको नागरिक दैनिकमा छापिएको छ ।

संम्बन्धित समचार

Leave a Reply