देशैभरी सरकारविरुद्ध कांग्रेसको प्रदर्शन :’दुई तिहाइको दम्भमा काम गरेको आरोप’

साउन १५,काठमाडौँ । प्रमुख प्रतिपक्षी दल काङ्ग्रेसले सरकारका काम कारवाहीको विरोधमा देशका ७७ वटै जिल्लामा प्रदर्शन गरेर पहिलो चरणको आन्दोलन सम्पन्न गरेको छ ।

सरकार सर्वसत्तावादतर्फ उन्मुख भएको भन्दै काङ्ग्रेसले सडक र सदन दुवैतर्फबाट आन्दोलन चर्काउने पूर्वघोषणा गरेअनुरुप मंगलबार ७७ वटै जिल्लामा विरोध प्रदर्शन गरेको हो ।

गत साउन १ गते पदाधिकारी बैठक बसेर काङ्ग्रेसले साउन १५ सम्मका लागि आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो । साउन ३, ५ र ८ गते काङ्ग्रेसका भातृ संगठनको अगुवाईमा माइतीघर र बानेश्वरमा भएका विरोध प्रदर्शनमा डा.गोविन्द केसीका माग प्राथमिकतामा थियो ।

डा.गोविन्द केसी र सरकारबीच सहमतिपछि काङ्ग्रेसले आफ्नो आन्दोलन अन्य विषयमा केन्द्रीत गरेको थियो । पहिलो चरण अन्र्तगत साउन १५ मा देशभरका जिल्ला सदरमुकाममा गरेको विरोध प्रदर्शनमा उल्लेख्य सहभागिता रहेको भन्दै आन्देलनमा जनसमर्थन प्राप्त भएको काङ्ग्रेसको दावी छ ।

यता नेपाली कांग्रेसले मंगलबार ललितपुरमा पनि सरकारको आलोचना गर्दै विरोध प्रदर्शन र्गयो ।

कम्युनिस्ट सरकारले बढाएको सबै प्रकारको कर फिर्ता लिनुपर्ने माग प्रदर्शनकारीको थियो ।

ललितपुरको पुल्चोकबाट सुरु भएको विरोध प्रदर्शन मंगलबजार हुँदै लगनखेलमा पुगेर कोणसभामा परिणत भएको थियो ।

वृद्धाभत्तामा ६५ वर्ष लागू गर्नुपर्ने, पूर्ववर्ती शेरबहादुर देउवा सरकारले ल्याएको चिकित्सा शिक्षा अध्यादेश जस्ताको तस्तै पारित गर्नुपर्ने उनीहरुको माग थियो ।
उता नेपाली कांग्रेस चितवनले सरकारविरुद्ध मंगलबार नारायणगढमा विरोध प्रदर्शन गरेको छ ।

भतरपुरको चौबिसकोठीबाट सुरु भएको प्रदर्शन नारायणगढको पुलचोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले दीपकराज जोशीलाई नै प्रधानन्यायाधीश बनाउनुपर्ने माग गरेका छन् ।

मंगलबार विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले ३० वर्ष न्याय सेवामा काम गरिसकेको व्यक्तिको प्रमाणपत्र छानबिन गर्नुपर्छ भन्नु बाहनामात्र भएको बताए । ३० वर्षसम्म विवाद नभएको प्रमाणपत्रमा अहिले विवाद गरिएको भन्दै गच्छदारले प्रधानन्यायाधीशमा जोशीकै नियुक्ति हुनुपर्ने माग गरे ।

प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको नाम अनुमोदन गर्ने विषयमा संसदीय सुनुवाई समितिमा विवाद भइरहेका बेला गच्छदारले जोशीको नियुक्ति हुनुपर्ने माग गरेका हुन् ।

सरकारले दुई तिहाइको दम्भमा संविधान मिच्ने काम गरेको पनि उनले आरोप लगाए ।
यसैबिच नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रस्तावित प्रधानन्यायधीश दीपकराज जोशीलाई संसदीय समितिले रोक्न नसक्ने बताएका छन् ।
तनहुँको दमौलीमा कांग्रेसले गरेको विरोध कार्यक्रममा उनले संवैधानिक परिषद्ले सिफारिस गरिसकेकोले संसदीय समितिले जोशीलाई प्रधानन्यायाधीश बन्नबाट रोक्न नसक्ने बताएका हुन् ।

संम्बन्धित समचार

Leave a Reply