नेप्से ६ प्रतिशतले घटेपछि कारोबार नै बन्द !

फाल्गुण २७, काठमाण्डौ । विश्‍वव्यापी महामारीको रुप लिइरहेको कोरोना भाइरसको प्रभाव नेपाली अर्थतन्त्रमा देखिन थालेको छ । रेमिट्यान्समा असर देखिन थालेको अवस्थामा शेयर बजार पनि प्रभावित हुन थालेको छ । कोरोनाका कारण अर्थतन्त्रका सूचकहरु नकारात्मक हुन थालिरहेका बेला मंगलबार शेयर मापक नेप्से ६ प्रतिशतले घटेपछि कारोबार नै स्थगित गरिएको छ । बजार ६ दशमलव ०२ प्रतिशतले घटेपछि दिउँसो १ बजेर १३ मिनेटमै सम्पूर्ण कारोवार बन्द गरिएको हो ।

कारोबार खुलेदेखि नै पहिरो गएपछि ३ पटक सर्किट ब्रेक लागेको थियो । सुरुमा बिहान ११ बढेर ५९ मिनेटमा ४५ अंकले घटेपछि २० मिनेटका लागि कारोबार स्थगित गरिएको थियो । १२ बजेर १९ मिनेट जाँदा पुनः खुलेको बजार खुलेको १३ मिनेटमै ५५ ले घट्यो र फेरि ४० मिनेटको लागि कारोबार रोकियो। त्यसपछि पुनः खुलेको बजार ६५ अंकले घट्यो । नेप्से ८६ दशमलव ३९ अंकले घट्दा १३ सय ४९ दशमलव ३१ बिन्दुमा ओर्लिएको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १७ दशमलव ३५ अंकले घटेर २ सय ९० दशमलव ३६ बिन्दुमा झरेको छ ।

सबैभन्दा धेरै जीवन बिमा समूहमा पहिरो गएको छ । यो समूह ७ सय ६२ अंकले घट्दा निर्जीवन बिमा ३ सय ६२ अंकले रातो भएको छ । बजार बन्द हुनुअघि १ सय ६१ कम्पनीका १ अर्ब ७ करोड ६६ लाखको कारोबार भएको थियो । यसक्रममा २७ लाख ३५ हजार ४ सय १८ कित्ता शेयर खरिदबिक्री भए । बजारमा कोरोना भाइरसको प्रकोपको असर देखिन थालेको विश्लेषण गरिएको छ ।

संम्बन्धित समचार

Leave a Reply