युरोपमा कोरोना नियन्त्रण तर्फ, लक डाउन खुकुलो पार्न छलफल

चैत्र २८, काठमाडौं । स्पेन कोरोनाभाइरस संक्रमणको आफ्नो सबैभन्दा खराब समय पछ्याउन लागेको छ । स्पेनीस संसदमा संकटकालीन अवस्था लम्ब्याउनेबारे छलफल चलिरहँदा कोरोनाभाइरसको संक्रमण नियन्त्रणमा आउन लागेको छ । प्रधानमन्त्री पेड्रो साञ्चेजले मड्रिडमा सदनलाई जानकारी गराउने क्रममा स्पेन भाइरसमाथि पूर्ण जिततर्फ अग्रसर भएको बताए । उनले कोरोनाभाइरस रुपी आगो नियन्त्रणमा आउन लागेको प्रतिक्रिया दिएका छ्न् । स्पेनमा यूरोपमै सबैभन्दा बढी कोरोनाभाइरस संक्रमित छन् । बिहिबारसम्ममा स्पेनमा एक लाख ५२ हजार ४४६ जना संक्रमितको पुष्टि भएको छ । कोरोनाभाइरस संक्रमणले इटाली र अमेरिकापछि सबैभन्दा बढी मृत्यु हुने राष्ट्र पनि हो, स्पेन । बिहिबारसम्म संक्रमणबाट १५ हजार २३८ जनाको मृत्यु दत्र्ता गरिएको छ ।

यूरोपेली नेताहरु दुई महिनादेखि जारी राखेको प्रतिबन्ध बिस्तारै कसरी खुकुलो बनाउँदै जाने गहन छलफलमा छन् । लकडाउनले बिग्रेको आर्थिक अवस्था सुधार गर्नेबारे यूरोपेली राष्ट्रका प्रमुखहरुको चिन्ता बढी छ । यूरोपेली संघ अगाडिको यात्रा तय गर्न मार्गचित्र बनाउन जुटेको छ । यूरोपमा आबद्ध सदस्य राष्ट्रका अर्थमन्त्रीबीच आर्थिक सहायता प्याकेजबारे छलफल हुँदैछ । इटालीका प्रधानमन्त्री जिसप कोन्टेले भने यूरोपेली आयोजनामा नयाँ जीवन दिने अवसरलाई राम्ररी सदुपयोग गर्न नसके असफल हुने जोखिम यथार्थ हुने बताए ।

स्पेनबाट आएको नयाँ तथ्याङ्क बमोजिम पछिल्लो चौबिस घण्टामा स्पेनमा ६८३ जना संक्रमितको मृत्यु भएको छ । बुधबार उक्त संख्या ७५७ थियो । अमेरिकामा संक्रमितको संख्या चार लाख नाघेको छ । स्पेन भने अमेरिकापछि दोस्रो सबैभन्दा बढी कोरोनाभाइरसको संक्रमण फैलेको राष्ट्र बनेको छ ।

स्पेनको सदनमा अप्रिल २६ सम्म राष्ट्रिय संकटकाल लम्ब्याउनेबारे बहस जारी छ । उक्त प्रस्ताव पारित भए यसअघि घोषणा गरिएको संकटकालमा दुई साता थपिनेछ । संकटकाल थप्ने प्रस्ताव पारित हुने सम्भावना बढी छ । यूरोपेली राष्ट्रमध्ये स्पेनले कोरोनाभाइरस संक्रमणको जोखिम र दर न्यूनीकरण गर्न कडा प्रतिबन्ध लगाएको थियो । विश्वब्यापी कोरोनाभाइरसको महामारीको रुप लिदा यूरोपेली राष्ट्र सबैभन्दा बढी प्रभावित भएको छ । अधिकांश मृत्यु र संक्रमित यूरोपेली राष्ट्रमा छन् ।
सहजतातर्फ कसरी उन्मुख हुँदैछ ?

अष्ट्रिया र चेक रिपब्लिकमा सानो तर अत्यावश्यक सेवाबाहेकका पसलहरु आगामी सातादेखि खुल्दैछ । डेनमार्कको माध्यमिक तथा शिशु कक्षाका विद्यालय १५ अप्रिलमा सञ्चालन हुनेछ । नर्वेमा भने २० अप्रिलदेखि विद्यालय सञ्चालन हुनेछ । जर्मनका स्वास्थ्य मन्त्री जेन्स स्पानले बिहिबार इस्टर पर्वपछि बिस्तारै जनजिवन सहज बनाउनेतर्फ उन्मुख हुने बताए ।

स्वीटजरल्याण्डमा पछिल्लो साता यता कोरोनाभाइरस संक्रमितको दैनिक मृत्यु दर घटेको छ । बेल्जियममा एक साता यता पहिलोपटक अस्पतालमा उपचारार्थ संक्रमित बिरामीको संख्या घटेको छ । विश्वमा सबैभन्दा बढी मृत्युको सामना गरेको इटालीले पनि प्रतिबन्धलाई कसरी खुकुलो बनाउँदै लग्नेबारे छलफल गर्दैछ । इटालीमा संक्रमितको संख्या दैनिकरुपमा घट्दो अवस्थामा छ । यद्दपी इटालीका प्रधानमन्त्री कोन्टेले अझै सावधानी अपनाउनुपर्ने सचेत गराए ।

बीबीसीका अनुसार पोर्चुगल भने इस्टर पर्वअघिसम्मका लागि प्रतिबन्धलाई कडा बनाएको छ । इस्टर पर्व अप्रिल २५ मा पर्नेछ । उसले औपचारिक र आधिकारिक कागजात बिना घरबाहिर ननिस्किने गरी लकडाउन लागू गरेको छ । बीबीसी

संम्बन्धित समचार

Leave a Reply