बन्दाबन्दीमा सर्वसाधारणलाई कारबाही: सडकमै उभ्याएर कोरोना भाइरससम्बन्धी जनचेतना !

बैशाख ४,सुर्खेत । नेपाल प्रहरीले लकडाउन उल्लङ्घन गर्नेलाई पक्राउ गर्ने सम्बन्धी नीतिमा केही परिवर्तन गरेको छ । अबदेखि बिनाकारण सडकमा निस्कनेहरुलाई प्रहरीले कोराना सम्बन्धी सचेतना दिने नीति लिएको हो ।

नोवेल कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणका लागि सरकारले चैत ११ गतेदेखि गरेको बन्दबन्दी पालना नगर्नेहरुलाई प्रहरीले सचेतना दिने नीति लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । बन्दबन्दीको समयमा अनावश्यक सडकमा आवतजावत गर्ने, बाहाना गरेर सडकमा आउने र रमिता हेर्नेहरुलाई प्रहरीले नियन्त्रणमा लिई कोरोना भाइरस सम्बन्धी सचेतना दिने गरेको सुर्खेतका प्रहरी उपरीक्षक दिल्लीराज पन्तले बताए ।

‘हामीले नियन्त्रणमा लिएका नागरिकलाई दुई/तीन घण्टा पोष्टमा राखेर कोरोना भाइरसको विश्वव्यापी समस्या र त्यसको प्रभावबारे जानकारी गराएका छौं,’ उनले भने, ‘विशेषगरी हाम्रा लागि बन्दाबन्दीको फाइदा के, यसमा अपनाउनुपर्ने सावधानीका विषयमा समेत सडकबाटै उनीहरुलाई सूचित गराएको छ ।’

बन्दाबन्दी भएदेखि मङ्गलबारसम्म प्रहरीले एक हजार ५६ जनालाई कोरोना भाइरस सङ्क्रमण तथा बन्दीबन्दीका सन्दर्भमा सडकमै सचेतना दिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक गोपाल रायमाझीले जानकारी दिए । उनले हालसम्म नियन्त्रणमा लिएका ३५८ महिला र ६९८ पुरुषलाई कारवाही स्वरुप सचेतना दिएर घर पठाइएको बताए ।

संम्बन्धित समचार

Leave a Reply