प्रदेश ५ मा मुख्यमन्त्रीको अगुवाई: अलपत्र परेकालाई खान,बस्न दिएर गन्तव्यमा पुर्‍याइदिने

बैशाख ५,काठमाडौँ । प्रदेश ५ सरकारले विभिन्न ठाउँबाट घर जान भनी प्रदेश ५ को सीमाभित्र प्रवेश गरेका नागरिकलाई खाने बस्ने व्यवस्थासहित गन्तब्यसम्म पुर्‍याइदिने भएको छ ।

मुख्यमन्त्री शंकर पोखरेलले शुक्रबारै सुरक्षा निकाय र स्थानीय तहहरुलाई पूर्वतिरबाट राजमार्ग हुँदै प्रदेशभित्र प्रवेश गरेका नागरिकलाई अलपत्र नपारी खाने बस्ने व्यवस्थासहितको अस्थायी क्वारेन्टाइनमा राख्न निर्देशन दिएका हुन् ।

क्वारेन्टाइन व्यवस्थापन तथा अलपत्रहरुको खानपिनका लागि स्थानीय तहलाई बजेट समेत बिनियोजन गरिएको छ । जसका लागि गाउँपालिकालाई १० लाख, नगरपालिकालाई १५ लाख, उपमहानगरपालिकालाई २० लाख विनियोजन गरिएको छ । तर भारतीयको समेत व्यवस्थापन गर्नुपर्ने भएकाले नेपालगन्ज उपमहानगरपालिकालाई २५ लाख र सिद्धार्थनगर नगरपालिकालाई २० लाख व्यवस्था गरिएको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

‘घर जान भनेर प्रदेश ५ भित्र आइपुग्नुभएका सबै नागरिकलाई प्रहरीको सहयोगमा नजिकै रहेको क्वारेन्टाइनमा गइदिन आग्रह गरेका छौं र खाने बस्ने व्यवस्था पनि गरिएको छ । लकडाउनको पूर्ण पालना गर्नु हामी सबैका लागि जरुरी छ’ उनले भनेका छन् ।

प्रदेश सकारले शुक्रबारदेखिनै पूर्वबाट आएका नागरिकलाई बस्न र खानका लागि बर्दघाटमा व्यवस्था मिलाएको छ । शुरुमा एक सय जनाको लागि व्यवस्था गरिएकोमा मान्छेको संख्या हेरेर बढाउन समेत स्थानीय तहलाई भनिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिए ।

विभिन्न ठाउँबाट हिडेर त्यहाँ पुगेकाहरुको प्रारम्भिक स्वास्थ्य जाँच गरी अस्थायी क्वारेन्टाइनमा राखिनेछ । त्यसपछि सबैको विवरण लिएर जो जुन ठाउँमा हुन् उनीहरुलाई प्रदेशभित्रका स्थानीय तहसँग समन्वय गरी गन्तव्यसम्म पुर्‍याउन पनि प्रदेश सरकारले नै समन्वय गर्नेछ ।

प्रदेश सरकारको समन्वयमा पुगेका नागरिकलाई सम्बन्धित स्थानीय तहले अस्थायी क्वारेन्टाइनमा राख्नेछन् । जहाँका नागरिक हुन् त्यहाँसम्म पुर्‍याउन आवश्यक व्यवस्था गर्ने निर्देशन मुख्यमन्त्रीबाट भइसकेको केसीले बताए ।

 

 

संम्बन्धित समचार

Leave a Reply