चक्रवात अम्पुनको अप्रत्यक्ष प्रभाव, सतर्कता अपनाउन आग्रह

जेठ ७, काठमाडौँ । नेपालमा स्थानीय वायुको प्रभावसँगै चक्रवात अम्पुनको अप्रत्यक्ष प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाले चक्रवात अम्पुनको अप्रत्क्षय प्रभावले बदलीसँगै पूर्वी भूभागका धेरै स्थानमा, मध्य भूभागका केही स्थानमा र पश्चिमी भूभागका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाका साथै हिमाली भूभागमा हिमपातको समेत सम्भावना भएको जनाएको छ ।

चक्रवात अम्पुनको अप्रत्यक्ष प्रभावले आज देशभर सामान्य बदली रही पूर्वी भूभागका धेरैजसो स्थानहरु, मध्य भूभागका केही स्थानमा र पश्चिमी भूभागका एक–दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले बताए । खोलानालामा जलप्रवाहसमेत बढोत्तरी हुने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन समेत महाशाखाले आग्रह गरेको छ ।

शुरुमा बङ्गालको खाडीमा विकसित भएको न्यूनचापीय मौसमी प्रणाली १६ मे, २०२० साँझ चक्रवातमा विकसित भएको थियो । यस चक्रवातको नाम अम्पुन नामाङ्कन गरिएको छ । उक्त चक्रवात शुरुमा उत्तर–उत्तरपश्चिम दिशातर्फबाट अगाडि बढ्दै गरेकामा पछि उत्तर–उत्तरपूर्वतर्फ अगाडि बढिरहेको छ ।

यो चक्रवात अझ शक्तिशाली बन्दै भारतको पश्चिम बङ्गालरबङ्गलादेशको तटीय क्षेत्रतर्फ अगाडि बढिरहेको छ । मौसमविद् कँडेलका अनुसार नेपालमा अम्पुन चक्रवातको प्रत्यक्ष प्रभाव नरहे पनि यसको अप्रत्यक्ष प्रभावबाट देशको खासगरी पूर्वी र मध्य क्षेत्रको मौसम आगामी तीनरचार दिन प्रभावित हुनेछ ।

हाल देशको सुदूरपश्चिम र प्रदेश नं ५ को तराईका भूभागबाहेक अन्य सबै स्थानमा सामान्य बदली रही केही स्थानमा वर्षा भइरहेको छ । दिउँसो देशको पूर्वी भूभागमा पूर्ण बदली तथा मध्य भूभागमा आंशिक बदली रही पूर्वी भूभागका धेरै स्थानमा तथा मध्य भूभागका केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

भोलि देशको मध्य तथा पूर्वी भूभागमा पूर्ण बदली रही पश्चिमी भूभागमा आंशिक बदली भइ मध्य तथा पूर्वी भूभागका केही स्थानमा र पश्चिमी भूभागका एक–दुई स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ । शुक्रबार देशको पूर्वी भूभागलगायत मध्य र पश्चिमी पहाडी भूभागमा सामान्यतया बदली रही पूर्वी भूभागका केही स्थान साथै मध्य र पश्चिमी पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको औँल्याएको छ ।

संम्बन्धित समचार

Leave a Reply