सोती घटना: बेपत्ता भएका गोविन्द शाहीको पनि शव भेटियो

जेठ २०,काठमाडौँ । रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८ सोतीमा गएको जेठ १० गते शनिबार भएको घटनामा बेपत्ता भएका अर्का एक जनाको शव भेटिएको छ । योसँगै बेपत्ता भएका ६ जनाकै शव भेटिएको हो ।

बेपत्ता भएका भेरी नगरपालिका ११ का गोविन्द शाहीको शव मङ्गलबार दिउँसो भेटिएको हो । शाहीको शव जाजरकोटको भेरी नगरपालिका १२ को खोदा खोलानजिक भेटिएको उनका आफन्तले बताएका छन् । भेरी नगरपालिका ४ का नवराज विकको प्रेमिकालाई ल्याउन रुकुमको चौरजहारी नगरपालिका वडा नम्बर ८ सोती गएको बेला घटना भएको थियो ।

१७ वर्षीया मल्ल थरकी युवतीलाई ल्याउन जाँदा सोतीका गाउँलेहरुले आक्रमण गरेर उनीहरुको मृत्यु भएको मृतकका आफन्तजनले बताएका छन् भने सोतीका स्थानीयले भने त्यसरी आक्रमण नगरेको बताएका छन् ।

गाउँमा हुल बाँधेर खराब नियतका साथ आएकाहरुलाई प्रहरीमा बुझाउने गरी समात्न खोजेको उनीहरुले बताएका छन् । मृतकका आफन्तले भने गाउँलेले ढुङ्गामुढाले हानेर मारेको आरोप लगाएका छन् । मृतकका आफन्तजनले घटनामा संलग्न २० जनाविरुद्ध किटानी जाहेरी दिएका छन् । १८ जनालाई पक्राउ गरेर रुकुम पश्चिम प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।

संम्बन्धित समचार

Leave a Reply