उमेर नपुग्दै भएको बालविवाहलाई गाउँपालिकाले गर्यो बदर !

भाद्र २०,बाग्लुङ । कानूनले तोकेको उमेर नपुग्दै भएको बालविवाहलाई तमानखोला गाउँपालिकाले बदर गरेको छ ।

गाउँपालिकाले गत वैशाखदेखि नै बालविवाह विरुद्धको अभियान थालेको हो । अभियानअन्तर्गत खुङ्खानी, बोङ्खानी, हिले, खोलेसवाङ र पहिरा गाउँमा भएका १० वटा बालविवाहलाई गाउँपालिकाले बदर गरेका हुन् ।

“सकभर हुनै दिन्नौँ, भइहाले बदर गर्छौं”, गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले भने । गाउँपालिकाको न्यायिक समितिमार्फत दुवै पक्षको समझदारी जुटाएर विवाह बदर गर्ने गरिएको छ । परामर्श, छलफल र सचेतनापछि विवाह तोड्न केटाकेटी पनि राजी हुन थालेका छन् । गाउँपालिकाले टोल, बस्तीमा पुगेर बालविवाह विरुद्धका वृत्तचित्र, नाटकसमेत प्रदर्शन गर्ने गरेको छ ।

घरघरमै पुगेर अभिभावक र बालबालिकालाई सँगै राखेर परामर्श दिने गरिएको छ । सचेतना बढाउँदा बालविवाह रोक्न सहज भएको अध्यक्ष बुढाले बताए । गाउँपालिकाले १६ देखि १९ वर्ष उमेर समूहभित्र भएका बालविवाहलाई बदर गरेको हो । बीस वर्षभन्दा कम उमेरमा हुने विवाहलाई कानूनले बालविवाह भनिएको छ ।

तमानखोला गाउँपालिकाका अधिकांश वडामा बालविवाह सामाजिक समस्याका रुपमा छ । कम उमेरमै भागेर विवाह गर्ने पुरानो प्रवृत्ति अहिले पनि रहेको गाउँपालिका उपाध्यक्ष एवं न्यायिक समितिकी संयोजक मानसरी शेरचनले बताए ।

संम्बन्धित समचार

Leave a Reply