दसैंमा टीकाको साइत बिहान १०ः१९ बजे उत्तम

नेपाल पञ्चाङ्ग निर्णायक समितिले विसं २०७७ को विजयादशमी लगायत दसैंका विभिन्न साइत सार्वजनिक गरेको छ । विसं २०७७ कात्तिक १ गते शनिबारदेखि नेपालीको महान् चाड बडादसैं शुरु हुँदैछ । दुर्गा पक्षसमेत भनिने दसैंको पहिलो दिन वैदिक सनातन धर्मावलम्बीले घरघरमा दियो, कलश र गणेश स्थापना गरी विशेष पूजासहित घटस्थापना गर्छन् । घटस्थापनाको साइत कात्तिक १ गते शनिबार बिहान ११ः४६ बजे शुभ रहेको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए ।

दसैंको मुख्य दिन कात्तिक १० गते सोमबार विजयादशमी पर्व परेको छ । यस दिन बिहान नौ रात १० दिन पूजा गरिएको स्थलमा देवी विसर्जनका लागि बिहान १०ः११ बजेको साइत शुभ रहेको समितिका अध्यक्ष गौतमले सुनाए । विजयादशमीमा साइत नै खोजेर टीका लगाउनेका लागि भने बिहान १०ः१९ बजेको साइत उत्तम छ । कोजाग्रत पूर्णिमा पनि कात्तिक १४ गते शुक्रबारकै दिन परेको छ । चान्द्रमासअनुसार प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म १५ दिन मनाइने दुर्गा पक्ष अर्थात् बडादसैं पर्व यस वर्ष अधिकमास अर्थात् मलमासका कारण कात्तिक १ गतेदेखि शुरु हुँदैछ ।

संम्बन्धित समचार

Leave a Reply