डिम्याट खाता के हो ? कसरी सञ्चालन हुन्छ ?

पुस १०, काठमाण्डौ । धितोपत्र बजारको नियामक नेपाल धितोपत्र बोर्डले गत माघ १ गतेदेखि प्राथमिक सेयर निष्काशनमा लगानी गर्न डिम्याट खाता अनिवार्य गरेको छ । यद्यपि, कतिपयलाई डिम्याट खाता के हो ? कसरी खोल्ने यो खाता ? जस्ता सामान्य सामान्य जानकारी पनि नहुन सक्छ । यसै आवश्यकतालाई मध्यनजर गर्दै बैंकिङ खबर डट कमले यो सामग्री तयार पारेको छ ।

के हो डिम्याट खाता ?
सेयर प्रमाणपत्र तथा अन्य धितोपत्रलाई कुनै बैङ्कमा खाता खोलेर जम्मा गर्नुलाई सेयर अभौतिकीकरण अथवा डिम्याट गर्नु भनिन्छ । यस्तो खातालाई हितग्राही खाता पनि भनिन्छ । आफूसँग भएको भौतिक सेयर प्रमाणपत्रलाई डिम्याट गराएपछि आफूसँग शेयर प्रमाणपत्रको कागज चाहिँदैन, त्यो बैङ्कमा रहेको डिम्याट खातामा हुन्छ । यसो भएपछि शेयर खरीदविक्री गर्न सहज हुन्छ, खरीदविक्रीको साफसाफ छिटो हुन्छ र प्राप्त हुने बोनस सेयर तथा हकप्रद सेयर आफ्नो हितग्राही खातामा सीधै जम्मा हुन्छ । त्यसैले, त्यस्तो सेयरको प्रमाणपत्र लिन कम्पनीमा धाइरहनु पर्दैन ।

कसरी खोल्ने डिम्याट खाता ?
डिम्याट खाता खोल्न सबैभन्दा पहिले लगानीकर्ताको एउटा फोटो र नागरिकताको प्रतिलिपि लिएर डिम्याट खाता खोल्ने कुनै (डीपी)मा जानुपर्छ । नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई सीडीएस एण्ड क्लियरिङ कम्पनीको सदस्यता लिएका बैङ्क, वित्तीय संस्था, मर्चेण्ट बैङ्कर वा ब्रोकर कम्पनीले निश्चित मापदण्ड पूरा गरी निक्षेप सदस्य (डीपी)को काम गर्ने गर्छन् । यस्ता संस्था हाल ६० ओटा छन् ।

कम्पनीअनुसार छुट्टाछुट्टै डिम्याट खाता
कम्पनीअनुसार छुट्टाछुट्टै डिम्याट रिक्वेष्ट फारम भनुपर्छ । फारम भरेपछि कम्पनीको शेयर प्रमाणपत्रसमेत डिम्याट खाता भएको कम्पनीलाई अर्थात् डीपीलाई बुझाउनुपर्दछ । ग्राहकबाट लिएको डिम्याट रिक्वेष्ट फारम डीपीले सेयर रजिष्ट्रारमा पठाउँछ र त्यहाँबाट प्रमाणित भएपछि खातामा जम्मा हुन्छ । खाता खेल्नेबित्तिकै डीपीले ग्राहकलाई चेक बुकजस्तै डेलिभरी इन्ष्ट्रक्शन स्लिप दिन्छ । शेयर विक्री गर्नुपर्ने बेलामा यस्तो स्लिपमा कुन कम्पनीको कति कित्ता शेयर बेच्ने हो, भरेर दिनुपर्छ । यस्तो स्लिप भरिसकेपछि हराउनुहुँदैन । भरेको स्लिप हराएमा यो पाउने जोसुकैले पनि कारोबार गर्न सक्छ । यस्तो स्लिप हराएमा सीडीएस एण्ड क्लियरिङमा तुरन्त जानकारी गर्नुपर्छ । कुनै कम्पनीले हकप्रद सेयर जारी गर्न लागेको छ, तर सेयरधनीले सो कम्पनीको सेयर डीपी खातामा जम्मा गरेको छैन भने पहिला त्यस्ता सेयरधनीले डीपी खाता खोलेको कम्पनीलाई सोको जानकारी दिनुपर्दछ । त्यसपछि हकप्रद सेयरको फारम भर्दा डिपोजिटरी पार्टि्सिपेन्ट र बेनिफिसियल ओनर आईडी नम्बर उल्लेख गरेमा सेयर सोझै लगानीकर्ताको खातामा जम्मा हुन्छ ।

सेयर नहुनेको पनि डिम्याट खाता
आफूसँग कुनै कम्पनीको शेयर नभएमा पनि डिम्याट खाता खोल्न सकिन्छ । डिम्याट खाता खोलेपछि शेयर कारोबारका लागि डिम्याट रिक्वेष्ट फारम लिएर त्यहाँ भएको तालिकाको आईएसआईएन खण्डमा कुन कम्पनीको सेयर राख्ने हो, त्यसको आईएसआईएन सङ्केत उल्लेख गर्नुपर्छ । आईएसआइएन सङ्केत कम्पनीअनुसार फरक हुन्छ । एउटै कम्पनीको पनि सर्वसाधारण, संस्थापक, अग्राधिकार शेयरको वर्गअनुसार यो सङ्केत फरक हुने गर्दछ । डिम्याट गर्ने कम्पनीसँग सोधेमा यो सङ्केत पाउन सकिन्छ ।

एकभन्दा बढी खाता खोल्न पनि मिल्ने
हितग्राही खाता खोल्न रू. ५० तिर्नुपर्छ भने खाता खोलेपछि वार्षिक शुल्क रू. १ सय लाग्छ । लगानीकर्ताले एकभन्दा बढी डीपीमार्फत खाता खोल्न पाउने पनि सुविधा छ । अलगअलग खाता खोल्दा प्रारम्भिक शुल्क र वार्षिक शुल्क सबैमा बुझाउनुपर्दछ । लगानीकर्ताको खाता विवरण एउटै रहने भए पनि खाता नम्बर भने अलगअलगै हुन्छ ।

संम्बन्धित समचार

Leave a Reply