पत्रकार पराजुलीको ‘कुमाता’माथि विर्मश

चैत्र २ काठमाडौ । पत्रकार एवं आख्यानकार वसन्त पराजुलीको कथासङ्ग्रह ‘कुमाता’माथि आज यहाँ विमर्श गरिएको छ । लघुकथा समाजको आयोजना भएको उक्त समारोहमा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ले कथा साहित्यको क्षेत्रमा कुमाताले फरक धार अङ्गालेको बताए ।

कुमाताका कथा नारी प्रधान रहेको बताउँदै उनले भने, “पुस्तकले नेपाली कथा साहित्यको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल भएको छ ।” उनले किताब प्रकाशन भएको एक वर्षमा तेस्रो संस्करण आउनु र तीनवटा पुरस्कार प्राप्त गर्नु नै उपन्यासको शक्ति भएको बताए ।

उक्त कृतिमाथि समीक्षा गर्दै समालोचक प्रा डा लक्ष्मणप्रसाद गौतमले कथाको विषयवस्तु समसामयिक र हाम्रै समाज वरिपरिका रहेकाले पाठकले रुचाएको उल्लेख गरे । उनले पुस्तकभित्रको पत्रकार कथा शक्तिशाली रहेको जानकारी दिए । अर्का समीक्षक उपप्राध्यापक ज्ञानु अधिकारीले लेखक पराजुलीले कुमातामा राम्रा कथा समावेश गरेको जानकारी गराउँदै शीर्षकमाथि भने आपत्ति जनाइन् । उनले कुमाता कथा सङ्ग्रह समग्रमा राम्रो भए पनि आगामी कृतिमा नारी अस्मिताप्रति अझ संवेदनशील हुन लेखकलाई आग्रह गरिन् । उनले अहिलेको समाज र परिवेशअनुसारको कथा ल्याउनुपर्नेमा जेड दिँदै यस पुस्तकमा परम्परागत विषयवस्तु जोड्दा अलि नमिलेको जिकिर गरिन् ।

लेखक पराजुलीले नारी संवेदनमा केन्द्रित भएर कथा लेखिएको जानकारी र्दिइन् । नारी प्रधान विषयवस्तुलाई टपक्क टिप्दै काल्पनिकताको जलप लगाएर कथा तयार भएकाले पाठकले यसलाई मन पराएको उनले बताइन् । उनले पुस्तकको नाम कुमाता भए पनि विषयलाई सुमातामा लगेर टुङ्ग्याउने प्रयास गरेको जनाइन् । महिलाले बाध्यतामा परेर आफ्नै सन्तानलाई त्याग्नुपर्ने अवस्था किन आयो भनेर समाजमा पुस्तकमार्फत बहस उठाएको लेखकको भनाइ थियो । भुँडीपुराण प्रकाशन प्रालिका प्रबन्ध निर्देशक केशव पराजुलीले पुस्तकको तेस्रो सस्करण प्रकाशनको प्रक्रिया शुरु भएको जानकारी दिइन् ।

भुँडीपुराण प्रकाशन प्रालिले गत वर्षको यही फागुन २६ गते प्रकाशन गरेको कुमाताको गत असारमा दोस्रो संस्करण निकालेको हो । यो पुस्तक चितवन साहित्य परिषद्को चिसाप राजकृष्ण कँडेल साहित्य पुरस्कार, राउण्ड टेबुल गसिफ हेटौँडाको सम्मान र हाम्रो मझेरी प्रतिष्ठानको स्रष्टा सम्मानबाट सम्मानित भएको कृति हो । यसको अङ्ग्रेजी संस्करण पनि ल्याउने तयारी गरिएको छ ।

संम्बन्धित समचार

Leave a Reply