लाइसेन्सको परीक्षाका लागि नयाँ नियम, जेठ १ गतेदेखि लागू हुने

चैत्र २७,काठमाडौँ । आउँदो जेठ १ गतेदेखि लागू हुने गरेर सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षाका लागि नयाँ नियम ल्याएको छ ।

जेठ १ देखि लागू हुने गरेर सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिकामा लिखित र प्रयोगात्मक दुवै परीक्षाको मोडालिटी परिवर्तन गरिएको छ ।

अहिले प्रयोगात्मक परीक्षामा एउटै गल्ती भए पनि लाइसेन्स लिन अयोग्य हुने भए पनि नयाँ निर्देशिकामा ट्रायलका विभिन्न चरणलाई फरक-फरक अङ्कभारको व्यवस्था गरिएको छ र ७० अङ्क ल्याएमा लाइसेन्सको ट्रायल पास हुने व्यवस्था गरिएको छ । यो व्यवस्थापछि सामान्य गल्ती गरे पनि लाइसेन्स पाउनबाट वञ्चित हुनु पर्दैन ।

यसअघि प्रयोगात्मक परीक्षा पास गर्ने दर २० देखि ३० प्रतिशतमात्रै थियो । नेपालको जस्तै व्यवस्था भएको भारतलगायत देशहरुमा अध्ययन गर्दा यो अलि अव्यावहारिक भएको पाइएकाले परीक्षाको मोडालिटी परिवर्तन गरिएको यातायात व्यवस्था विभागका सूचना अधिकारी लोकनाथ भुसालले बताए ।

उनले भने-‘भारत, चीन, अमेरिकालगायत देशहरुको अध्ययन गर्दा नेपालको प्रयोगात्मक परीक्षाको व्यवस्था कठिन, जटिल, असहज र सेवाग्राही मैत्री नभएको हामीहरुको निष्कर्ष रह्यो । यसलाई थप सहज बनाउन हामीहरुले नयाँ मोडालिटी ल्याएका हौँ ।’

गएको चैत ६ गतेको मन्त्रीस्तरीय बैठकको निर्णयले चालक अनुमतिपत्र परीक्षा सञ्चालनका लागि नयाँ कार्यविधि निर्देशिका ल्याउन निर्णय गरेको थियो । मन्त्रालयको सैद्धान्तिक स्वीकृति अनुसार विभागले जेठ १ गतेदेखि लागू हुने गरेर कार्यान्वयनमा लैजान लागेको हो ।

संम्बन्धित समचार

Leave a Reply