तितेपाती प्रशोधन गरेर सुगन्धित तेल उत्पादन !

असोज १९,खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१०, पाथेकामा तितेपाती प्रशोधन गरेर सुगन्धित तेल उत्पादन गर्न थालिएको छ ।

पाथेकाका ९ युवाको समूहले सेयर लगानीमा खेर गइरहेको तितेपाती प्रशोधन गरेर सुगन्धित तेल उत्पादन गर्न थालेको हो ।
करिब रु ३५ लाखको लगानीमा पाथेकाको तापखोलास्थित त्रिवेणीमा सो उद्योग स्थापना गरिएको हो ।

‘समृद्धि पथ एग्रो कम्पनी प्रा.लि’द्वारा सन्चालित सो उद्योगबाट हालसम्म २५ लिटर तेल उत्पादन भएको सन्चालक मुगाधन राईले बताए ।

‘तीन हप्तासम्म परीक्षण गरेर तेल प्रशोधन गर्न थालिएको हो’–उनले भने ।

सो क्षेत्रमा पर्याप्त मात्रामा तितेपाती रहेको छ । औषधिकारुपमा प्रयोग गरिने तितेपाती तेलको माग बढ्दै गएको राईले बताए ।

‘प्रतिलिटर रु ८ हजार ५०० का दरले तेल बिक्री भइरहेको छ । हामीले तेल उत्पादन थालेलगत्तै विभिन्न ठाउँबाट माग आउन थालेको छ’–राईले भने–‘हाम्रो उत्पादनले बजार पाउन थालेको छ ।’

तेल उत्पादन गर्नका लागि एकपटकमा करिब ७०० किलो तितेपाती पकाउनुपर्छ । दुईपटकमा गरी करिब दुई लिटर तेल निकाल्न सकिन्छ ।

तितेपाती संकलन गरी वाष्पीकरण विधिबाट पकाएर तेल निकाल्ने गरिन्छ ।

संम्बन्धित समचार

Leave a Reply