पौडी खेल्ने क्रममा डुबेका दुई जनाको मृत्यु

बैशाख २,लमजुङ । गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङको मस्र्याङ्दी गाउँपालिका–३ थाकनस्थित हाँगोखोलामा पौडी खेल्ने क्रममा डुबेका दुई जनाको मृत्यु भएको छ ।

घरबाट घाँस काट्न गएको र गर्मी भएपछि उक्त खोलामा बुधबार साँझ पौडी खेल्ने क्रममा खोलामा डुबेर १६ वर्षीया सिर्जना परियार र १३ वर्षीया नमूना परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक ओमप्रकाश पुनले बताए ।

उनीहरुलाई पौडी खेल्न नआएको र खोला आठ फिट गहिरो भएका कारण मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक दुई किशोरीसँगै अन्य दुई जना साथी पनि घाँस काट्नसँगै गएका थिए ।

सोमध्ये १४ वर्षीया मुस्कान परियार पनि पौडी खेलेको र मुस्कान पनि खोलामा डुब्न लागेपछि पौडी नखेलेका एक जना साथीले लौरीको सहायताले सकुशल उद्धार गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरु सिर्जना महेन्द्रदेव माविमा ८ कक्षा र नमूना विनायक आधारभूत विद्यालयको ४ कक्षाका विद्यार्थी हुन् । दुवैको शव बेँसीशहर नगरपालिका–८ स्थित जिल्ला अस्पताल लमजुङमा परीक्षणका लागि ल्याइएको छ ।

आज बिहान १०र११ बजेतिर परीक्षण गरेपछि परिवारलाई बुझाइने प्रहरी निरीक्षक पुनको भनाइ छ ।

संम्बन्धित समचार

Leave a Reply