‘जन्मसिद्ध’ नेपाली नागरिकता लिएका व्यक्तिका सन्तानलाई वंशजका आधारमा नागरिकता दिने

जेठ ७, काठमाडौ । प्रतिनिधिसभामा विचाराधीन नागरिकतासम्बन्धी विधेयकलाई बाइपास गरेर मन्त्रिपरिषद्ले राजनीतिक दाउपेच पूरा गर्न ‘नेपाल नागरिकता ऐन २०६३ संशोधनसम्बन्धी अध्यादेश’ स्वीकृत गरेको छ । तर उक्त अध्यादेश राष्ट्रपतिबाट जारी हुन बाँकी छ ।

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले ‘जन्मसिद्ध’ नेपाली नागरिकता लिएका व्यक्तिका सन्तानलाई वंशजका आधारमा नागरिकता दिने गरी अध्यादेश स्वीकृत गरेको हो । त्यस्तै बाबुको पहिचान नभएका सन्तानलाई आमाका नामबाट वंशजका आधारमा नागरिकता दिइने प्रावधान पनि अध्यादेशमा समेटिएको छ । मन्त्रिपरिषद्ले शपथग्रहण र कोरोना महामारीसहित नागरिकतासम्बन्धी अध्यादेश एकसाथ राष्ट्रपति कार्यालय पठाएको थियो ।

तर, बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकताबाहेकका अरू दुई अध्यादेश मात्रै जारी गरेकी छन् । यही विषयसमेत समेटिएको नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रतिनिधिसभामै विचाराधीन छ । संसद् सञ्चालन हुँदा यो विषय टुंगोमा पुगेको थिएन । एमाले र नेकपा माओवादी केन्द्रले विधेयकका केही प्रावधानमा असहमति जनाएकै कारण यो विषय प्रतिनिधिसभाबाट पारित भएको थिएन । तर, अहिले केपी शर्मा ओली नेतृत्वको सरकार रहनेरनरहने भनेर धरमराएका बेला सरकारले आफूअनुकूल अध्यादेश ल्याएको हो ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले मन्त्रिपरिषद्बाट तीनवटा अध्यादेश स्वीकृत भई राष्ट्रपति कार्यालय पठाइएको बताए । ‘मन्त्रिपरिषद्बाट तीनवटा अध्यादेश स्वीकृत भएका छन्, दुईवटा त राष्ट्रपतिबाटै जारी पनि भइसके,’ मन्त्री श्रेष्ठले बिहीबार राति कान्तिपुरसँग भने, ‘सायद नागरिकतासम्बन्धी अध्यादेश अध्ययनका क्रममा भएका कारण जारी नभएको हुन सक्छ ।’ कान्तिपुरबाट

संम्बन्धित समचार

Leave a Reply