उपचारका लागी दिल्ली जाँदै गर्दा खनालद्धारा वक्तब्य जारी, एकता कायम राख्न सुझाव

असार २, काठमाण्डौ । स्वास्थ्य उपचारका लागि दिल्ली जाँदै गर्दा पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले पार्टी एकताका लागि आब्हान गरेका छन् । राजधानीको नर्भिक अस्पतालमा उपचार गराइरहेका खनालले दिल्ली जाँदै एक बक्तब्य जारी गर्दै देश, लोकतन्त्र र पार्टीको अवस्थाले आफूलाई अत्यन्तै चिन्तित बनाएको बताएका छन् ।

नर्भिक अस्पताल स्रोतका अनुसार खनालको फोक्सोमा पानी जमेको र रगतमा संक्रमण देखिएकाले दिल्ली जान सुझाव दिएसँगै उनले विज्ञप्ति पनि जारी गरेका हुन् ।

प्रेस वक्तव्य
आदरणीय दिदि बहिनी तथा दाजुभाईहरु,
उपचारको क्रममा आएका एकपछि अर्को स्वास्थ्य समस्याको कारण डाक्टरहरुको सल्लाहमा म आज केहि दिनका लागि देश बाहिर जाँदैछु । मेरो स्वास्थ्य लाभको कामना गर्नुहुने सम्पुर्णमा आभार व्यक्त गर्न चाहान्छु । सफल उपचार पछि म स्वदेश फर्केर यहाँहरुमाझ पुनः हुनेछु भन्ने विश्वास लिएको छु ।

देशको विथोलिएको वर्तमान राजनैतिक अवस्थाले मलाई धेरै चिन्तित बनाएको छ । राजनैतिक दलहरु विवाद र ध्रुविकरणले विभाजन उन्मुख भएका छन् । त्यही अन्तर संघर्षको पराकम्पन हाम्रो तत्कालिन पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा पर्यो र अहिले नेकपा (एमाले) मा परिरहेको छ । राष्ट्रिय एकता अखण्डता लोकतन्त्र र स्थायीत्वको खम्बाको रुपमा रहेका दलहरुभित्र यस्तो हुनु देश, जनता, लोकतन्त्र, विकास र समृद्धिका निम्ती दुर्भाग्यपूर्ण अवस्था हो । त्यसैले देशका प्रमुख दलहरु र तिनका नेताहरु विचको अनावश्यक टकराव, महत्वकांक्षा र व्यक्तिगत इगो साध्ने कार्य यथाशीघ्र अन्त्य गरिनु पर्दछ । हामि सबै एकजुट भएर मुलुकका मुलभुत समस्याहरु हल गर्नु पर्दछ भन्ने कुरा म सबैलाई आग्रह गर्न चाहान्छु ।

हाम्रो पार्टी नेकपा (एमाले)सयौँ सहिदहरुको वलिदान, हजारौं योद्धाहरुको रगत पसिना, कैयौंको प्रवास, जेल, भुमिगत जिवनको संघर्ष, त्याग र तपस्याको कारण सफलताको यो विन्दु सम्म आइपुगेको हो । सो त्यागले यो पार्टी देशको नेतृत्वदायी पार्टी बनोस, राष्ट्र र जनताको हित तथा विकास र समृद्धिको बाहक बनोस र बन्नेछ भन्ने अपेक्षा राखेको छ । तर त्यो जनताको चाहना र अपेक्षा विपरित हामिमा देखिएको अनेकौं गलत प्रवृत्तिहरु, बदलाको भाव र अनावश्यक ईगोका कारण पार्टी जिवनमा यतिखेर गम्भीर संकट उत्पन्न भएको छ ।

देश, लोकतन्त्र र पार्टीको यो अवस्थाले मलाई अत्यन्तै चिन्तित बनाएको छ । विगतमा हामि सबै मिलेर ठुलाठुला सफलताहरु प्राप्त गरेको स्मरण गरौं । एकता सफलताको बाटो हो भने फुट बिनासको । त्यसैले रिस, राग, अहंकार र बदलाभाव त्यागेर पार्टिका बैधानिक प्रकृया अन्तर्गत यो पार्टी फुटबाट जोगाउन तथा एकताबद्ध पार्न म सबै नेता कार्यकर्ताहरुलाई विशेष आह्वान गर्न चहान्छु । पार्टीलाई फुटतर्फ धकेल्ने होइन, धैर्य र संयमका साथ एकता जोगाउने प्रयत्न गर्यौ भने मात्र हामि सफल हुन सक्छौँ र सिङ्गो राष्ट्रको नेतृत्व गर्न सक्छौं । त्यसैले टुट(फुट र विभाजन होइन एकता गर्ने गराउने कार्यमा अगाडी बढौं भन्ने सबैमा आह्वान गर्न चहान्छु ।
धन्यवाद

 

संम्बन्धित समचार

Leave a Reply