हात्तीको आक्रमणबाट ५५ वर्षीया मेचे गम्भीर घाइते

असार १३,झापा । भारतीय जङ्गली हात्तीको आक्रमणबाट आज बिहान मेचीनगर नगरपालिका–३ की ५५ वर्षीया डुकीसरी मेचे गम्भीर घाइते भएका छन् । घर नजिकै रहेको निन्दा खोलामा नुहाउन जाने क्रममा हात्तीले आक्रमण गर्दा उनी गम्भीर घाइते भएका हुन् । खुट्टा र टाउकामा चोट लागेर घाइते बनेकी मेचेको बिर्तामोडस्थित बी एन्ड सी अस्पतालमा उपचार भइरहेको डिभिजन वन कार्यालयले जनाएको छ ।

गए राति बाहुनडाँगीमा लगाइएको विद्युतीय तारबार भत्काएर भारतबाट १६ हात्ती नेपाल छिरेको डिभिजन वन कार्यालयका प्रमुख युवराज मास्केले बताए । बाहुनडाँगी छिरेका १६ हात्तीमध्ये १४ मेचीनगर–३ स्थित बहुवन सामुदायिक वन क्षेत्रमा रहेका छन् । दुई मेचीनगर–२ स्थित देवीगञ्जमा हात्ती स्थानीयवासी हरि चम्लागाईं र नरेन्द्र न्यौपानेको चिया बगानमा रहेका छन् ।

गाउँको बीचमा रहेको चिया बगानमा हात्ती छिरेपछि स्थानीयवासी त्रसित बनेका छन् । मानवीय क्षति हुन नदिनका लागि डिभिजन वन कार्यालयका सुवेदार रामप्रसाद यादवको नेतृत्वमा टोली खटाइएको छ । हात्तीलाई गाउँ पस्न नदिन वनको टोली, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीले गस्ती गरिरहेको उनले बताए ।

उनका अनुसार दिनभर चियाबगानमा रहेका हात्तीलाई साँझ परेपछि भारततिरै सुरक्षित तरिकाले लखेट्ने योजना छ । बाहुनडाँगीमा विगत एक महिनादेखि भारतबाट हुल बाँधेर आउने हात्तीले आतङ्क मच्चाउन थालेको स्थानीय हात्ती संरक्षणकर्मी शङ्कर लुइँटेलले बताए ।

उनका अनुसार २०७२ सालमा विद्युतीय तारबार पूरा भएपछि बाहुनडाँगीमा भारतबाट हात्ती पस्न सकेका थिएनन् । गत जेठको अन्तिम सातादेखि दिनहुँ सयको सङ्ख्यामा हात्ती मेची नदी तरेर आएका छन् । उनले भने, “तारबार भत्काएर गाउँ पसेर मान्छेमाथि आक्रमण गर्न थालिसके, समयमै विद्युतीय घेराबारको मर्मतसम्भार नगर्ने हो भने फेरि विगतमा जस्तै हात्तीका कारण बाहुन डाँगीमा ठूलो धनजनको क्षति हुने सम्भावना बढेको छ ।”

संम्बन्धित समचार

Leave a Reply