नेकपा एमाले २०७५ जेठ २ जेठ गतेकै अवस्थामा फर्किने, माधव नेपाल एकतामा नजाने !

असार १६, काठमाण्डौ । नेकपा एमाले २०७५ जेठ २ जेठ गतेकै अवस्थामा फर्किने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलवार बसेको एमाले स्थायी कमिटी बैठकले २ जेठमा फर्किने निर्णय औपचारिक रूपमा गरेको हो ।
एमाले सचिव एवं प्रवक्ता प्रदीप ज्ञवालीले बैठकले १८ असारमा बस्ने गरी एकतापूर्वको केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको बताए । दोस्रो तहका नेताहरूको छलफल र सर्वोच्च अदालतले महाधिवेशन आयोजक कमिटीलाई मान्यता नदिएपछि जेठ २ गतेकै अवस्थामा एमालेलाई फर्काउन अध्यक्ष केपी शर्मा ओली सहमत भएका हुन् ।

गत फागुन २३ गतेमा सर्वोच्च अदालतले एमाले ब्युँताएपछि २०७५ जेठ २ गतेकै पार्टी कमिटी, विधान र नेतृत्व कायम हुनुपर्ने माग पार्टीभित्र भइरहेको थियो । वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम सहितको समूहले जेठ २ गतेको पार्टी कमिटी अनुसार अघि बढ्नुपर्ने अडान राख्दै आएका थिए ।

महाधिवेशन आयोजक कमिटीको एजेन्डा तथा राष्ट्रिय प्रतिनिधि परिषद् सदस्यबारे टुंगो लगाउन एमाले स्थायी कमिटी बैठक मंगलवार बसेको हो । बुधवार बस्ने आयोजक कमिटी बैठकले महाधिवेशन आयोजक कमिटीलाई विघटन गरेर केन्द्रीय कमिटी बैठकको आह्वान हुनेछ ।

केन्द्रीय कमिटी बैठक बोलाइएसँगै नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी स्वतः पुनर्बहाली हुने र ११ जना नेतालाई गरिएको कारबाही समेत स्वतः निष्क्रिय हुने भएको छ ।

एमाले स्रोतका अनुसार ३ जेठ २०७५ सम्म जो जुन पदमा थिए सोही पदीय जिम्मेवारीसहित केन्द्रीय कमिटी बैठकमा सहभागी हुनेछन् । अर्थात् नेकपा एकतापछि एमालेमा फर्किएका पूर्वमाओवादी केन्द्रका नेताहरूसमेत सोही जिम्मेवारीसहित एमाले बैठकमा सहभागी हुनेछन् । नेकपामा हुँदा उनीहरू जुन जिम्मेवारीमा थिए त्यो यथावत् नै रहनेछ ।

उता एमालेको १०औं महाधिवेशन आयोजक कमिटी विघटनको बैठक बुधवार बस्दैछ । महाधिवेशन आयोजक कमिटीको बैठकमा नेपाल समूहका नेताहरू सहभागी नहुने बताइएको छ ।

तर ओली समूहले नेपालसहित कारबाहीमा परेका ११ जना नेताबाहेक सबैलाई बैठकमा सहभागी हुन भनेको छ । एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले कारबाहीमा परेका ११ जनाबाहेकका सबै नेतालाई बैठकमा सहभागी हुन बोलाइएको बताए ।

वरिष्ठ नेताद्वय माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावल, कल्याणी खडका, रामकुमारी झाँक्रीसहितका ११ जना नेतालाई जेठ १० गतेको बैठकले पार्टीबाट कारबाही गरेको थियो । राजधानी दैनिकमा खबर छ ।

संम्बन्धित समचार

Leave a Reply