बीमा कम्पनीले गरे खर्ब बढी बीमा शुल्क संकलन, कस्को कति ?

साउन ५, काठमाण्डौ । चालु आर्थिक वर्षको ८ महिनामा बीमा कम्पनीहरुले एक खर्ब रुपैयाँभन्दा बढी बीमा शुल्क संकलन गरेका छन् सञ्चालनमा रहेको जीवन र निर्जीवन बीमा कम्पनीले फागुन महिनासम्म १ खर्ब २ अर्ब ४० करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको बीमा समिति जनाएको छ ।

समितिद्वारा उपलब्ध तथ्यांकमा राष्ट्रिय बीमा कम्पनीको तथ्यांक भने समावेश छैन । सरकारी लगानीको राष्टिय बीमा कम्पनी नियमकको दायराभन्दा पनि माथि छ । लामो समयसम्म साधारणसभा र अडिट नगरी सञ्चालन भइरहँदा पनि बीमा समितिले यो कम्पनीलाई व्यवसाय गर्न छुट दिएको छ । फागुन मसान्तसम्म १९ वटा जीवन बीमा कम्पनीले ८२ अर्ब २० करोड रुपैयाँ र १९ वटा निर्जीवन बीमा कम्पनीले २० अर्ब २० करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् ।

सो अवधिमा बीमा शुल्क संकलन गर्ने पहिलो स्थानमा जीवन बीमातर्फ नेपाल लाइफ इन्स्योरेन्स र निर्जीवन बीमा कम्पनीतर्फ शिखर इन्स्योरेन्स छ ।

दोस्रो स्थानमा जीवनतर्फ एलआइसी र निर्जीवनतर्फ सगरमाथा इन्स्योरेन्स कम्पनी छ ।

सो अवधिमा जीवनतर्फ सबैभन्दा थोरै बीमा शुल्क महालक्ष्मी लाइफ इस्योरेन्सले गरेको छ भने निर्जीवनतर्फ सानिमा जनरल इन्स्योरेन्सले बीमा शुल्क संकलन गरेको छ ।

नेपाल लाइफ इन्स्योरेन्सले फागुन महिनासम्म प्रथम र नवीकरण तथा वैदेशिक बीमा शुल्क गरी २२ अर्ब ६७ करोड रुपैयाँ संकलन गरेको छ । साथै, सो अवधिमा एलआइसीले प्रथम र नवीकरण बीमा शुल्क गरी १० अर्ब ८८ करोड बीमा शुल्क संकलन गरेको छ ।

यसैगरी, अग्नी, मोटर, सामुन्द्रिक, हवाई, कृषि तथा बाली, इञ्जिनियरिङ, कोरोना र अन्य विविध बीमालेख बिक्री गरी शिखर इन्स्योरेन्सले २ अर्ब ६८ करोड रुपैयाँ र सगरमाथा इन्स्योरेन्सले १ अर्ब ७७ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।

जीवन बीमा कम्पनीको फागुन महिनामा व्यवसाय

सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनीले चालु आवको ८ महिनामा प्रथम र नवीकरण तथा वैदेशिक बीमा शुल्क कुल ८२ अर्ब २० करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । जसमध्ये नेपाल लाइफले २२ अर्ब रुपैयाँमाथि र एलआइसीले १० अर्ब रुपैयाँ माथि कुल बीमा संकलन गरेका हुन् ।

सो अवधिमा ९ वटा जीवन बीमा कम्पनीले २ अर्ब रुपैयाँदेखि ७ अर्ब रुपैयाँ ८३ करोड रुपैयाँसम्म बीमा शुल्क संकलन गरेका छन् । जसमा नेशनल लाइफले ७ अर्ब ८३ करोड रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीले ६ अर्ब ५२ करोड रुपैयाँ, युनियन लाइफले ४ अर्ब ६७ करोड रुपैयाँ, एशियन लाइफले ४ अर्ब ४ करोड रुपैयाँ, मेट लाइफले ३ अर्ब ५१ करोड रुपैयाँ र सूर्य लाइफले २ अर्ब ९६ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन् ।

साथै, प्राइम लाइफले २ अर्ब ७५ करोड रुपैयाँ, गुराँस लाइफले २ अर्ब ६८ करोड रुपैयाँ र सिटिजन्स लाइफले २ अर्ब ७ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका हुन् ।

यसैगरी, सो अवधिमा ६ वटा जीवन बीमा कम्पनीले १ अर्ब माथि २ अर्ब रुपैयाँसम्म कुल बीमा शुल्क संकलन गरेका छन् । जसमा ज्योति लाइफले १ अर्ब ९९ करोड रुपैयाँ, रिलायवलले १ अर्ब ९५ करोड रुपैयाँ, रिलायन्सले १ अर्ब ७४ करोड रुपैयाँ र आइएमई लाइफले १ अर्ब ६१ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन् ।

साथै, सन नेपालले १ अर्ब ४१ करोड रुपैयाँ र सानिमा लाइफले १ अर्ब २६ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन् । फागुन महिनासम्म प्रभु लाइफले ९८ करोड रुपैयाँ र महालक्ष्मी लाइफले ६८ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन् ।

निर्जीवन बीमा कम्पनीको फागुन महिनामा व्यवसाय

समितिद्वारा प्राप्त तथ्यांकअनुसार चालु आवको ८ महिनामा १९ वटा निर्जीवन बीमा कम्पनीहरुले अग्नी, मोटर, सामुन्द्रिक, हवाई, कृषि तथा बाली, इञ्जिनियरिङ, कोरोना र अन्य विविध बीमा लेख बिक्री गरी २० अर्ब २० करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन् ।

जसमध्ये ८ वटा कम्पनीले १ अर्ब रुपैयाँदेखि २ अर्ब ६८ करोड रुपैयाँसम्म, ९ वटा कम्पनीले ५५ करोड रुपैयाँदेखि १ अर्ब रुपैयाँसम्म र २ वटा कम्पनीले ५० करोड रुपैयाँभन्दा कम कुल बीमा शुल्क संकलन गरेका छन् ।
फागुन महिनासम्म शिखर इन्स्योरेन्सले २ अर्ब ६८ करोड रुपैयाँ, सगरमाथा इन्स्योरेन्सले १ अर्ब ७७ करोड रुपैयाँ, नेको इन्स्योरेन्सले १ अर्ब ७३ करोड रुपैयाँ र सिद्धार्थ इन्स्योरेन्सले १ अर्ब ५७ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन् ।

साथै, सो अवधिमा एनएलजीले १ अर्ब ४६ करोड रुपैयाँ, प्रिमियर इन्स्योरेन्सले १ अर्ब २६ करोड रुपैयाँ, प्रभु इन्स्योरेन्सले १ अर्ब रुपैयाँ र आइएमई जनरल इस्योरेन्सले १ अर्ब रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका हुन् ।

यसैगरी, सो अवधिमा पु्रडेन्सियल इन्स्योरेन्सले ९४ करोड रुपैयाँ, लुम्बिनी इन्स्योरेन्सले ९१ करोड रुपैयाँ, अजोड इन्स्योरेन्सले ८९ करोड रुपैयाँ र युनाइटेड इन्स्योरेन्सले ७४ अर्ब रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन् ।

साथै, दि–ओरिन्टियल इस्योरेन्सले ७३ करोड रुपैयाँ, एभरेष्ट इन्स्योरेन्सले ६७ करोड रुपैयाँ, हिमालयन जनरलले ६० करोड रुपैयाँ र नेशलन इन्स्योरेन्सले ५५ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन् ।

सो अवधिमा जनरल इन्स्योरेन्सले ४७ करोड रुपैयाँ र सानिमा जनरलले ३९ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन् ।

संम्बन्धित समचार

Leave a Reply