धितोपत्र बोर्डका अध्यक्ष ढुंगानालाई निलम्बन गर्न कर्मचारी युनियनको माग

साउन १७, काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानालाई निलम्बन गरी कारबाही गर्न बोर्डको कर्मचारी संगठनले माग गरेको छ । नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियनले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै अध्यक्ष ढुंगानाले पदको प्रतिष्ठा र बोर्डको गरिमा कायम गर्न नसकेको भन्दै निलम्बन गरी कारबाही गर्न माग गरेको हो ।

नेपालमै पहिलोपटक बुक बिल्डिङमार्फत आईपीओ जारी गर्न लागेको सर्वोत्तम सिमेन्टको करिब १२ हजार कित्ता सेयर अध्यक्ष ढुंगानाकी छोरी रेबिका ढुंगानाको नाममा भेटिएको छ । बोर्ड अध्यक्षले बोर्ड आचारसंहिता विपरित छोरीको नाममा सेयर किनेको भनेर चर्को विरोध भइरहेको छ । कतिपयले बोर्ड अध्यक्षले ‘गोल्डेन सेयर’ लिएको समेत आरोप लगाएका छन् ।

यो विषय बाहिर आएपछि बोर्ड र अध्यक्षको प्रतिष्ठामा नै आँच आएको भन्दै कर्मचारी युनियनले कारबाही गर्न माग गरेका हुन् । यो घटनापछि अर्थमन्त्रालयले बोर्डको नाममा पत्राचार गर्दै ३ दिनभित्र स्पष्टीकरण सोधेको थियो । मन्त्रालयले सोधेको स्पष्टीकरण पत्रमा व्यक्तिको नाम उल्लेख नगरी कार्यालयको नाममात्रै उल्लेख गरेको छ ।

युनियनले अर्थमन्त्रालयको पत्रमा समेत आपत्ति जनाएको छ । कुनै व्यक्तिले गरेको गल्तीलाई समग्र संस्थाको गल्तीको रुपमा देखाउनु गलत भएको युनियनको भनाइ छ ।

युनियनका अध्यक्ष राजुबहादुर जिसी र वरिष्ठ उपाध्यक्ष गौरब विष्टले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ, ‘बोर्डको संस्थागत गरिमालाई आँच आउन नदिन उक्त कार्यमा संलग्नहरुलाई तत्काल निलम्बन गरी ऐनको दफा ७(७), १२, ९१ र ९२ तथा अन्य विद्यमान कानूनका आधारमा सम्बन्धित  निकायले बजारको पारदर्शिता र स्वच्छता कायम राख्नका लागि अबिलम्ब छानबिन कार्य अगाडि बढाई दोषी देखिएकालाई हदैसम्मको कारबाही गर्न युनियन जोडदार माग गर्दछ ।’

युनियनका सचिव विपिन सापकोटाले युनियनको बैठकले नै निर्णय गरेर विज्ञप्ति जारी गरेको बताए ।

संम्बन्धित समचार

Leave a Reply