सांसदको तलब भत्ताको कारोबार अब वाणिज्य बैंकबाट गर्ने

साउन १७, काठमाडौं । सांसदहरुले अब सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकमार्फत तलब भत्ता बुझ्ने भएका छन् । संघीय संसद सचिवालयले यसअघि निजी बैंकबाट गर्दै आएको कारोबार अब राष्ट्रिय वाणिज्य बैंकबाट जनाएको छ ।

अर्थ मन्त्रालयले हालै सिंहदरबारभित्रका सबै कार्यालयको कारोबार राष्ट्रिय वाणिज्य बैंकबाट गर्न निर्देशन दिएपछि संघीय संसदको कारोबार पनि राष्ट्रिय वाणिज्य बैंकबाट गर्न लागिएको प्रवक्ता डा. रोजनाथ पाण्डेले जानकारी दिए ।

यसअघि सांसदहरुले निजी बैंकबाट तलब भत्ता बुझ्दै आएका थिए । आफूहरुको तलब भत्ता सरकारी बैंकबाट नै पाउनुपर्ने व्यवस्था गर्न सांसदहरुले संसद बैठकमै आवाज उठाएका थिए ।

सांसदहरुले कुरा उठाएपछि सभामुख अग्नि सापकोटाले सरकारी बैंकबाटै कारोबार गर्न निर्देशन दिएका थिए । संसद सचिवालयले २०७७ मंसिर १८ गते सरकारी कारोबार गर्ने बैंक परिवर्तन गरी राष्ट्रिय वाणिज्य बैंक मार्फत गर्ने व्यवस्था मिलाउन अर्थ मन्त्रालयलाई पत्राचार गरेको थियो ।

तर अर्थ मन्त्रालयले आर्थिक बर्षको बीचमा खाता परिवर्तन गर्न कठिनाई हुने जानकारी दिएको थियो । संसद सचिवालयले आर्थिक वर्ष २०७७/७८ सकिएपछि २०७८ असार ३१ गते पुन: अर्थ मन्त्रालयमा खाता परिवर्तनका लागि अनुरोध गरेको थियो ।

 

संम्बन्धित समचार

Leave a Reply