सुदूरपश्चिम प्रदेशसभा: एमालेका १३ जना सांसद एसमा सामेल हुने

भाद्र १५,काठमाडौँ । सुदूरपश्चिम प्रदेशसभामा एमालेका २५ सांसदमध्ये १३ जना माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीमा सामेल हुने भएका छन् ।

प्रदेश सरकारमा सामेल तीन मन्त्री, तीन राज्यमन्त्रीसहित जम्मा १३ सांसदले एमाले छाडेर नेकपा एकीकृत समाजवादी पार्टीमा रहने गरी निर्वाचन आयोगको कार्यालयमा सनाखत गराउन लागेका हुन् ।

आजै निर्वाचन कार्यालयमा गएर सनाखत गराउने तयारी भइरहेको प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री दिर्घ सोडारीले रातोपाटीलाई जानकारी दिए । ‘सनाखतका लागि निर्वाचन आयोगले २२ गतेसम्मको समय दिएको भए पनि हामी आजै सनाखत गर्ने तयारीमा छौैँ,’ उनले भने ।

प्रदेश निर्वाचन अधिकारी प्रेम भट्टले पनि आज सनाखतका लागि प्रदेशसभा सदस्यहरु आउने जानकारी प्राप्त भएको बताए ।

सोडारीका अनुसार हाललाई १३ जना सांसदले नेकपा एकीकृत समाजवादीका पक्षमा सनाखत गराउने भए पनि २२ गतेभित्र अन्य केही सदस्यसमेत थप हुन सक्नेछन् ।

यसअघि प्रदेशसभामा सभामुखसहित एमालेका २५ सांसदमध्ये १८ जना माधव नेपाल समूहमा र ७ जना केपी ओली समूहतिर खुलेका थिए । दल विभाजन भइसकेको अवस्थामा माधवकुमार नेपालको पक्षमा केही सांसद घटेको बताइन्छ । सुदूरपश्चिममा एमालेका प्रभावशाली मानिने नेता तथा पार्टीका उपाध्यक्ष भीम रावल एमालेतिरै फर्किएपछि माधवकुमार नेपाल पक्षका केही सांसद एमालेमै रहने निर्णयमा पुगेको स्रोत बताउँछ ।

नेकपा एकीकृत समाजवादी पार्टीका पक्षमा दिर्घ सोडारी, पूर्णा जोशी, लालबहादुर खड्का, बलबहादुर सोडारी, अमरबहादुर साउद, चुनकुमारी चौधरी, मना साउद, तारा लामा तामाङ, अर्चना गहतराज, कुलवीर चौधरी, सुशीला बुढाथोकी, दुर्गा कामी र माया भट्टले निर्वाचन कार्यालयमा सनाखत गराउन लागेका हुन् ।

संम्बन्धित समचार

Leave a Reply